जहाँ नेपाली नोट चल्न थाल्यो..

नेपालगन्ज,असार २५।भाषा हिन्दी। नोट भारतीय। सामान किन्न र उपचार गर्न भारत। सदरमुकाम नेपालगन्ज जाँदा भारतीय भन्थे। भारत जाँदा नेपाली भन्थे। बाँके नरैनापुरका बासिन्दाले सदीयौंदेखि भोग्दै आएको समस्यो हो।

खजुरा गाउँपालिकाको रनियापुर गाउँबाट लक्ष्मणपुरमा आयसा जनरल स्टोर खोलेका अन्सार अहमद खाँ त भारु धेरै प्रचलनमा हुनुलाई ‘वैदेशिक हस्तक्षेप’ ठान्छन्। ‘८५ प्रतिशत त भारु चल्छ। नेपाली पैसाको मूल्य छैन’, उनले भने।

 

‘बघौडा क्षेत्र’ भनेर चिनिने यहाँ यातायात र सञ्चारमा पनि पछाडि थियो। अहिले नेपाल टेलिकम र एनसेलको सेवा छ। हुलाकी राजमार्गले सदरमुकाम जोडेको छ। वर्षायाममा राप्तीपारिका साबिक नौ गाविस जिल्ला सदरमुकामबाट सम्बन्ध विच्छेद हुन्थे। राप्ती नदीको कम्दी घाट र सिक्टा सिँचाइ आयोजनाले अगैयामा पुल बनेपछि मात्र राप्ती सोनारी गाउँपालिकाका तीन वडा (साविक बैजापुर, बिनौना र फत्तेपुर गाविस) र हालको सिंगो नरैनापुर गाउँपालिकाका ६ वडा (साविक ६ गाविस : कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुर) को सदरमुकामसँग सम्पर्क स्थापित भएको हो। नरैनापुरको त सबै कारोबार नै भारतमै निर्भर हुनुपर्ने बाध्यता थियो।

 

नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ। सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ।’ भन्छन्, ‘रेट पाँच आईसी हो। नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन्। उनीहरू अधिकांश भारुमै कारोबार गर्छन्। छेवैको चिया पसल, बिरयानी सेन्टर होस् वा पान पसल, कारोबार भारुमै हुन्छ।

 

नरैनापुरमा नेपाली नोट चल्न थालेको धेरै भएको छैन। स्थानीय तहमा जनप्रतिनिधि आएपछि अलि बढी प्रयोगमा आयो। ०७४ सालमा गाउँमै बैंक खुलेपछि धेरैलाई हाम्रो नोट नेपाली भन्ने थाहा भयो। वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पनि धेरैलाई पहिलोपटक नेपाली रुपैयाँ बोक्ने बानी बसाएको छ।
गाउँमा नेपाली नोट कारोबार हुन थालेपछि बल्ल उनीहरूलाई आफू नेपाली भएको महसुस भएको छ।

 

बाँके नरैनापुर २ गंगापुरका निजामुद्दिन खाँले भने, ‘हामी को हौं को हौं जस्तो हुन्थ्यो। अब त नेपाली नै लाग्छ। हामी बल्ल नेपाली भयौं।’ उनका अनुसार विगतमा नेपाली रुपैयाँ चल्दैनथ्यो। चिया खाँदा भारु तिनुपथ्र्यो। कुखुरा किन्दा भारु चाहिन्थ्यो। गाउँपालिकामा बैंक स्थापना भएपछि नेपाली रुपैयाँ चल्न थालेको छ।नरैनापुरमा नेपाली नोट चल्नुमा बैंकको मुख्य भूमिका छ। नरैनापुरमा सनराइज बैंकको शाखा ७ माघ २०७४ देखि सञ्चालनमा छ। विगत १८ महिना अवधिमा बैंकले झन्डै ६ हजार जनाको खाता खोलिसकेको छ।

 

‘सुरुसुरुमा स्थानीयले बैंकलाई पत्याएनन्। विदेशबाट पैसा पठाउनेले एक हजार र पन्ध्र सय पठाएर चेक गर्थे’, शाखा प्रबन्धक खड्गप्रसाद देवकोटा भन्छन््, ‘अहिले त तीन लाख रुपैयाँसम्म पनि आउँछ। खाता खोलेका छन्। पैसा खातामै जम्मा हुन्छ। दैनिक २० देखि २५ वटा रेमिट्यान्सकै कारोबार हुन्छ।’ बैंकले नेपाली नोट चलाउन सिकाएको छ। ‘डिपोजिट गर्न आउने धेरैले भारु ल्याउँथे। बैंकबाट नेपाली निकाल्दा भारु खोज्थे’, देवकोटाले भने, ‘ बैंकले नै उनीहरूलाई नेरुमा सहज बनाइदियो। अहिले त नेपाली सहजै रूपमा लिएर जान्छन्।’

 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अमहद शाह गाउँलेले बल्ल नेपाली हुनुको गर्व गरिरहेको बताए। उनले भने, ‘हामी निर्वाचित हुनुअघि सबैको बैंक खाता भारतमै हुन्थ्यो। भारुमै कारोबार हुन्थ्यो। हामीले गाउँमै बैंक ल्यायौं। ८० प्रतिशतले नेपाली नोट बुझेका छन्।’याे समाचार अन्नपूर्ण पाेष्टमा छ ।