समृद्ध नेपाल सुखी नेपालीको नारा यसरी पुरा गर्दैछन् सांसद र मेयरले : सुकेको बाँसमा प्लास्टिकले पाइप अड्याएर धारा उद्घाटन

काठमाडौं,साउन १६। बागलुङमा नेकपाका प्रदेश सांसद र मेयरले जहाँ हँसाएका छन् । गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा एवं बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले खानेपानी योजना उद्घाटनको दृश्य निकै रोचक थियो ।

 

खानेपानी योजना उद्घाटनको एउटा तस्विर भाइरल समेत भइरहेको छ । ढिकीचौर खानेपानी योजना निर्माण सम्पन्न भएको बताइएको छ । तर, तस्विर हेर्दा लाग्दैन की योजना सम्पन्न भयो । बाग्लुङ्ग नगरपालिकाको ५ लाख ५७ हजार र वडा नं ७ ढिकीचौरबासीको सहयोग गरी करीब १२ लाखको लागतमा सम्पन्न भनिएको उक्त योजनाको खानीपानी पाइप सुकेको बाँसमा प्लाष्टिकको डोरीले बाँधेर अडाइएको छ ।

 

सोही धारा खोलेर सांसद सापकोटा र मेयर पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । योजना उद्घाटन सत्रमा तस्वीर खिच्नेहरुको ताँती देखिन्छ । राजनीतिक जस लिनका लागि हतार हतार उद्घाटन गर्दा सांसद र मेयर हाँसोका पात्र बन्न पुगेका छन्।