आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

शनिबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।