बढ्न थाल्यो अनलाइन उजुरी

काठमाडौँ, साउन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार नियन्त्रण तथा निवारणका लागि अनलाइन उजुरी सशक्त माध्यम बन्न थालेको छ ।

 

आयोगले अनलाइन उजुरीको व्यवस्था ल्याएदेखि उजुरी दिनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । आयोगले २०६९÷७० देखि अनलाइन ऊजुरी लिने व्यवस्था गरेको छ । केही वर्षअघिसम्म आयोगले लिखित निवेदन र कागजी प्रमाण लिएर आफैँ उपस्थित भएर उजुरी दिने व्यवस्थामा सीमित थियो ।

 

सुरुमा एक÷दुईवटा मात्रै उजुरी पर्ने अख्तियारमा पछिल्ला वर्षहरूमा भने ‘इमेल’ वा आयोगको अनलाइन शीर्षकमार्फत उजुरी दर्ता गराउनेको सङ्ख्या बढेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रविधि प्रयोग गर्नेको सङ्ख्या बढेसँगै आयोगमा इमेलमार्फत उजुरी आउने सङ्ख्या पनि बढेको जानकारी दिनुभयो ।

 

गत वर्ष मात्रै आयोगमा करिब २४ हजार अख्तियार दुरुपयोगसम्बन्धी उजुरी परेका थिए । प्रवक्ता कोइरालाले भन्नुभयो, “१५ प्रतिशतभन्दा बढी उजुरी अनलाइनबाट आएका छन् । ” आयोगको तथ्याङ्कबमोजिम गत वर्ष करिब तीन हजार छ सय उजुरी अनलाइनबाट प्राप्त भएको हो । चालू आर्थिक वर्षको सुरुको केही दिनमा दैनिक तीनवटासम्म अनलाइन उजुरी पर्न थालेको छ ।

 

आयोगले हटलाइन, भाइबर, इमेल, फेसबुक, ट्विटर र हुलाकमार्फत वा आफैँ उपस्थित भई ती माध्यमबाट उजुरी लिँदै आएको छ । इमेल अतिरिक्त फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल भएर पर्ने उजुरी विद्युतीय माध्यमअन्तर्गत नै पर्छन् ।

 

प्रवक्ता कोइराला अनलाइन, फेसबुक वा ट्विटर प्रयोग गरी दिइने उजुरीको विश्वसनीयता आफैँ उपस्थित भएर दिइने उजुरीजस्तै रहने बताउनुहुन्छ । कोइराला भन्नुहुन्छ, “जुनसुकै माध्यमबाट आए पनि उजुरीलाई एउटै बास्केटभित्र राखेर छानबिन र अध्ययन हुन्छ । ” आयोगको वेबसाइटमा राखिएको अनलाइन उजुरी ‘ट्याम्प्लेट’मार्फत अख्तियारको दुरुपयोग गर्ने संस्था वा व्यक्तिविरुद्ध प्रमाण र सङ्क्षिप्त जानकारीसहितको विवरण पेस गरेपछि उजुरी बुझिन्छ ।

 

इन्टरनेटको बढ्दो प्रयोगसँगै उजुरी दिने माध्यमलाई बढाएर अनलाइन र सामाजिक सञ्जालसम्म पु¥याइएको हो । नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिब एक करोड ६६ लाख पुगेको छ । जुन कुल जनसङ्ख्याको ६३ प्रतिशत हो । इन्टरनेटको बढ्दो प्रयोगसँगै अख्तियारलाई प्रविधिमैत्री बनाउन उजुरी दिने माध्यम पनि थपिएको आयोगको तर्क छ । यसले आयोगसम्म पहुँचसमेत वृद्धि गरेको दाबी आयोगको छ ।

 

आफैँ उपस्थित भएर दिइने निवेदन तथा प्रमाणलाई आयोगले ‘स्क्यान’ गरेर अनुसन्धान अगाडि बढाउँदै आएको छ । आयोगले प्रविधिमैत्री उजुरी र गुनासो बुझाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । प्रवक्ता कोइराला भन्नुहुन्छ, “शतप्रतिशत उजुरी नै अनलाइन आए काम गर्न अझै सजिलो हुने थियो । ” गोरखापत्र दैनिकमा खबर छ।