विप्लवप्रति आक्रामक बन्दै सरकार, वार्ता नभएपछि एक्सन

काठमाडौं,साउन २० ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पछिल्ला गतिविधिप्रति सरकार झन् आक्रामक भएको छ । सरकारले सो समूहसँग वार्ताको पहल गरिरहेको भए पनि हिंसात्मक गतिविधि नरोकिएपछि सरकारले एक्सनमा जाने संकेत देखाएको हो ।

 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आइतबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा विप्लव समूह हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा नआए सरकार झन् कठोर बन्ने संकेत गरेका हुन् ।

 

‘सरकारले कुनै पनि हालतमा हिंसा रोक्छ, हिंसा नछाडेपछि पुर्जा काटिन्छ, बन्दुकले हिजो पनि हारेको हो, आज पनि हार्छ, हिंसा नछाडे वार्ता हुँदैन,’ सञ्चारमन्त्री समेत रहेका बाँस्कोटोले पत्रकार सम्मेलनमा भने ।

 

उनले हिंसात्मक गतिविधिमा संलग्न रहेको विप्लव नेतृत्वको समूहसँग सरकारले इमानदारीतापूर्वक वार्ता गर्न चाहेको समेत बताए । तर, सरकारले जनतालाई निराश भने बनाउन नचाहेको उनले प्रस्ट पारे । वार्ताका लागि सधैं स्वागत गर्छौं तर त्यो निष्कर्षसहितको समाधानका लागि हुनुपर्छ, दाउपेचका लागि होइन, जनता निराश बनाउन होइन,’ सञ्चारमन्त्री बाँस्कोटाले भने ।

 

दुई साताअघि गृहमन्त्री रामबहादुर थापाले समेत गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेरै विप्लव समूह शान्ति सुरक्षाका लागि चुनौती बन्दै गएको बताएका थिए । यो खबर राजधानी दैनिकमा छ ।