पूर्वराजा ज्ञानेन्द्र भोलि थाइल्याण्ड जाँदै

काठमाडौं, साउन २३ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन्। देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन्।

 

उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ। विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन्। उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने कार्यक्रम रहेको छ।

 

पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी छिन्। अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन् भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।

 

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो। करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लागेका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेका छन्।