रवि समर्थक २२ पक्राउ, ४ धरौटीमा रिहा

चितवन, भदौ ५। आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्, १८ जनालाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ । रविलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ गते शुक्रबारदेखि हरेक दिन प्रदर्शन हुने गरेको छ । प्रहरीले साउन ३२ गते चार जनालाई समाएको थियो । भदौ २ गते १० जना पक्राउ परे । मंगलबार रविसहित तीनजनालाई अनुसन्धानका लागि म्याद थप गर्नअदालत लैजाने दिन थियो । त्यो दिन प्रदर्शनमा उत्रिएका ८ जना समातिए ।

 

‘समातिएकामध्ये चार जना धरौटीमा छुटेका छन्, १८ जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न चितवन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर हिरासतमै राखिएको छ’, डीएसपी कोइरालाले भने ।

 

समर्थकको प्रदर्शनमा बुधबारबाट संख्या पातलो हुँदै गएको छ । प्रदर्शनमा उत्रेकाले अराजक नारा लगाउने गरेको भन्दै नेकपा चितवनले त्यस्ता कार्यक्रममा सहभागी नहुन सोमबार प्रेस विज्ञप्ति जारी गरेर कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएको थियो । सोही दिन कांग्रेसले पनि अलग्गै विज्ञप्ति निकालेर शान्तिपूर्ण रूपमा सभासम्मेलन र जुलुसमार्फत जायज मागको ‘परीक्षण’ गर्न पाउने संवैधानिक अधिकार प्रत्याभूत हुनुपर्ने बताएको थियो ।यो खबर कान्तिपुर दैनिकमा छ ।