साउदीमा आक्रमण नगर्ने भन्दै हुथी विद्रोहीद्धारा शान्ति वार्ताको प्रस्ताव

काठमाडौं। साउदी अरबको तेल कम्पनीमाथि ड्रोन र मिसाइल आक्रमणको एक सातापछि हुथी विद्रोहीले साउदी अरेबियामा आक्रमण नगर्ने घोषणा गर्दै शान्ति वार्ताको प्रस्ताव गरेको छ । यमन र इरानको समर्थनप्राप्त हुथी विद्रोहीले शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको दुई ठूला तेल प्रशोधन स्थलमा ड्र«ोन आक्रमण भएको थियो । संसारकै सबैभन्दा विशाल तेल प्रशोधन स्थलमा आगलागी भएको थियो ।

 

इरान निकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले सो आक्रणका लागि एउटा ड्रोन प्रयोग गरेको बताएका थिए । एक टेलिभिजन घोषणामा हुथीका सर्वोच्च राजनीतिक परिषद् अध्यक्ष महदी अल(मसातले आफ्नो समूहले साउदी अरेबियामाथिको सबै आक्रमण अन्त्य गर्ने बताएका छन् । ‘यदि कसैले हाम्रो पहलमा प्रतिक्रिया दिएनन् भने यो मामलामा फेरि र्फकने र जवाफ दिने अधिकार सुरक्षित छ’, वृहत राष्ट्रिय मेलमिलापका लागि आह्वान गर्दै मसातले भनेका छन् ।

 

हुथीले राखेको शान्ति वार्ताको प्रस्तावको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफिथ्सले समस्याको राजनीतिक समाधान खोज्न आहृवान गरेका छन् । हुथी विद्रोहीले साउदी अरबमाथि आफूले आक्रमण गरेको दाबी गर्दै आए पनि अमेरिका र साउदी अरबले अस्वीकार गर्दै आएका छन् । आक्रमणमा इरान संलग्न भएको उनीहरूको आरोप छ । तर इरानले आक्रमणको आफ्नो संलग्नताबारे इन्कार गर्दै आइरहेको छ ।

 

संयुक्त राष्ट्र संघले हुथीको घोषणापछि एक विज्ञप्ति जारी गर्दे यसले युद्ध अन्त्यका लागि सन्देश प्रवाह गर्ने बताएको छ । यमनको नागरिक युद्धले पछिल्ला केही वर्षदेखि संकट उत्पन्न गराउँदै आएको छ । यो युद्धबाट हालसम्म १० हजारको मृत्यु भइसकेको छ भने लाखौंलाई भोकमरीमा धकेलेको छ । यसलाई विश्वकै मानवीय प्रकोप ठान्ने गरिएको छ ।

 

हुथीहरूले खाडी राष्ट्रहरूमा असंख्य मिसाइल र रकेट आक्रमण गर्दै आइरहेका छन् । एक साताअघि १४ सेप्टेम्बरमा मात्रै हुथीले साउदी अरेबियाको अबक्वेक तेल फ्यासिलिटी र खुरइस तेल प्रशोधन केन्द्रमा आफूले आक्रमण गरेको दाबी गरेको थियो । अघिल्लो महिना सयबाह प्राकृतिक ग्याँस क्षेत्रमा पनि ड्रोन आक्रमण भएको थियो । हुथी विद्रोहीमाथि त्यसको आरोप लगाइएको थियो ।

 

त्यसबाहेक मेमा अन्य तेल कम्पनीलाई पनि निसाना बनाइएको थियो । हुथी विद्रोहीलाई इरानको सहयोग प्राप्त हुने बताइएको छ । हुथी विद्रोही यमन सरकार र साउदीको नेतृत्वमा रहेका सैनिक बलसँग लडिरहेको छ । साउदी अरबले आफ्नो नेतृत्वमा छिमेकी देशका सेनासँग हुथी विद्रोहीविरुद्ध लडिरहेको छ ।

 

साउदी नेतृत्वमा रहेको सैनिक गठबन्धनले हरेक दिनजसो यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गरिरहेको हुन्छ । हुथी विद्रोहीले पनि साउदीमाथि मिसाइल प्रहार गरिरहेको समाचार आइरहेका छन् । साउदी र इरानको बढ्दो प्रतिद्वन्द्वका कारण पनि यी क्षेत्रमा तनाव सिर्जना हुने गरेको बताइन्छ ।