दुई लाख नेपाली पासपोर्ट इन्टरपोलको रेकर्डमा

काठमाडौं, मंसिर ८ । राहदानी विभागले हराएको २ लाख ६ हजार ८ सय ६६ पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ । विगत ९ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राखेको राहदानी विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार नौ वर्षयता ६० लाख राहदानी जारी भएकोमा वार्षिक करिब २३ हजार नेपाली पासपोर्ट हराउने गरेका छन् । विभागको तथ्यांकलाई आधार मान्दा दैनिक ६३ वटा राहदानी हराएको रिपोर्ट विभागमा आउने गर्छन् । यो संख्या विभागको जानकारीमा आएको रेकर्ड मात्रै हो ।

 

 

राहदानी विभागका अनुसार हराएको सो पासपोर्ट प्रहरीको इन्टरपोल शाखामार्फत् इन्टरपोलमा रेकर्ड राखेको हो । विभागले हस्तलिखित पासपोर्ट भने इन्टरपोलमा राखेको छैन । हस्तलिखित पासपोर्ट हटेर मेसिन रिडएबल पासपोर्ट जारी हुन थालेपछि हराएका र चोरी भएको पासपोर्ट इन्टरपोलमा राख्दै आएको छ ।

 

 

विभागले ११ पुस २०६७ देखि एमआरपी जारी गर्न सुरु गरेको हो । नेपाललगायत अन्य मुलुकले पनि पासपोर्ट हराएमा इन्टरपोलमा राख्ने गर्दछन् । इन्टरपोलले यसलाई आफ्नो ‘सिस्टम’मा राखेको छ, जसको पहुँच अध्यागमन कार्यालयलाई दिइएको छ । राजधानी दैनिकमा खबर छ।