भारतबाट फर्किएका युवक मृत भेटीए

बाजुरा, माघ ११। बाजुराको बडिमालिका र बुढीनन्दा नगरपालिकाको बीच क्षेत्रमा पर्ने पोरखे लेकमा एक युवक मृत भेटीएका छन् । बुढीनन्दा नगरपालिका ९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार मृत भेटिएको प्रहरीले जनाएको छ ।

 

पोरखे लेक स्थित लल्लरे खोलामा हिउँले पुरिएको अवस्थामा ल्वार भेटिएको शसस्त्र प्रहरी हवल्दार जयमनी महत्तराले जानकारी दिएका छन् । मृत शवको पहिचान भएपनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको लगिने तयारी भएको छ। 

 

ल्वार रोजगारीको शिलशिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए । उनी मुम्बईबाट घर फर्किदै गर्दा बीच बाटोमा नै मृत भेटिएका हुन् । घटना स्थलबाट ल्वारको घर मात्र १ घण्टाको दुरीमा पर्दछ ।

 

मृत्युको कारण बारे आधिकारीक जानकारी प्राप्त नभएपनि चिसोका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । ढम्कनेबाट लगातार २ घण्टा हिउँकै बाटोमा हिँड्नु पर्ने हुन्छ । ल्वार मुम्बइ बाट एक्लै नेपाल आएको परिवारले बताएका छन् ।

 

तीनदिन पहिले मार्तडी पुगेको खबर गरेपनि त्यो भन्दा पछि कुनै जानकारी नभएको र फोन समेत नलागेकोले आफूहरुले खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । शब भेटिएको स्थानमा प्रहरी र आफन्त समेत पुगीसकेका छन् ।

 

पोरखे काँधमा भारी हिमपातका कारण तीन साता देखि सडक अवरुद्ध रहेको छ । ढम्कनेबाट हिँडेर जानु पर्ने हुँदा प्रहरी घटना स्थल पुग्न चार घण्टा बढी लागेेेेेकाे थियो । पोरखे क्षेत्रमा यस अघि पनि हिमपात भएकै बेला तीन जनाको ज्यान गइसकेको छ ।

 

यस्तै चोरी लुटपाटका घटना पनि हुने गरेका छन् । प्रहरी प्रशासनबाट धेरै टाढाकाे दुरीमा रहेको र जंगलको बाटो भएकोले पोरखे लेकमा अपराधिक घटनाहरु घट्नेक्रम जारी छ । सरकारले पोरखेमा सशस्त्र प्रहरी क्याम्प राख्ने भनेपनि अझै राखिएको छैन ।