नौ पार्टीद्धारा संयुक्त आन्दोलनका कार्यक्रम घाेषणा (विज्ञप्तीसहित)

आन्दोलनरत नौ पार्टीहरुको बैठक देशभक्त जनगणतान्त्रीक मोर्चाका अध्यक्ष सी पी गजुरेलको अध्यक्षतामा बस्यो, जसमा निम्नलिखित पार्टी र नेताहरुको सहभागिता रहेको छ ।

१. ने क पा (मसाल)का महासचिव —क.मोहन विक्रम सिंह

२. ने क पा (क्रान्तिकारी माओवादी)का महासचिव —क.मोहन वैद्य ‘किरण’

३.ने क पा (मालें)का महासचिव — क.सी पी मैनाली

४.राष्ट्रिय जन मोर्चाका अध्यक्ष —क चित्र बहादुर के सी

५.देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष —क सी पी गजुरेल

६.ने क पा राष्ट्रिय सम्मेलन आयोजक —क ऋषि कट्टेल

७. ने क पा (माओवादी केन्द्र)—क.गोपाल किराँती

८.जन समाजवादी पार्टीका अध्यक्ष —क.सुभाष काफ्ले

९.राष्ट्रिय जागरण परिषद, नेपालका संयोजक —क.साध्य बहादुर भण्डारी

२०७६ माघ २६ गते सम्पन्न बैठकले आगामी संयुक्त संघर्षलाई प्रभावकारी ढंगले अघि बढाउन निम्नअनुसारका निर्णयहरु लिएको छ।

१ भारतव्दारा अतिक्रमित र कब्जा गरिएको लिम्पियाधुरा— कालापानी–लिपुलेक भारतमा समावेस गरेर प्रचार गरिएको राजनीतिक नक्सालाई खारेज गरी नेपालले आफ्नो भूमि माथिको स्वामित्व लिने र नक्कली नक्सा बदर गर्ने तथा अमेरिकाव्दारा एमसीसी नेपालको संसदबाट पारित गराएर नेपाललाइ रणमैदान बनाउन खोजेकोमा त्यसलाई खारेज गराउनका लागि माघ २४ गते नौ पार्टीव्दारा आयोजित संयुक्त संघर्षको कार्यक्रम सापेक्षित रुपमा सफल भएको बैठकले समिक्षा गरेको छ । संघर्षका कार्यक्रममा सहभागी सबै प्रति धन्यवाद ज्ञापन गरिएको छ ।

२.उपरोक्त भारतीय अतिक्रमण तथा अमेरिकी हस्तक्षेपका विरुद्धमा संघर्ष गरिरहेका नेपाल मजदुर किसान पार्टी र ने क पा (संयुक्त)लाई पनि कार्यगत एकतामा आउनका लागि अनुरोध गर्ने । यसका साथै एम सी सी खारेज गर्न, लिम्पियाधुरा–कालापानी–लिपुलेक बचाउन अभियान संचालन गरिरहेका अभियन्ताहरुसँग संयुक्त कार्यक्रम संचालन गर्नका लागि सहकार्य गर्न प्रयत्न गर्ने निर्णय भएको छ ।

३. आगामी संयुक्त आन्दोलनको कार्यक्रम निम्नअनुसार तय गरिएको छ।
ड्ड माघ २८ र २९ गते – डेलिगेसन गएर प्रधान मंन्त्री र सभामुखसँग भेटी एम सी सी सम्झौता नगर्न र संसदबाट पारित नगर्न तथा भारतव्दारा अतिक्रमित नेपाली भूभागमा आफ्नो स्वामित्व कायम गर्नका लागि जोड दिने ।

ड्ड फाल्गुण ३ गते – नेपालका सबै जिल्लाहरुमा उपरोक्त विषयहरुमा संयुक्त रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने । यसको समायोजन प्रदेश समितिहरु मिलेर संयुक्त रुपले गर्ने छन।

ड्ड फाल्गुण ५ गते – ललितपुर जिल्लाको लगनखेलमा बृहद जन संवाद कार्यक्रम सचालन गर्ने ।

ड्ड फाल्गुण ८ गते– माइतीघर मण्डलाबाट ब्यानर र प्लेकार्ड सहित जुलुस प्रदर्शन गर्दै संसद भवन बाहिर पुगेर जन सभा गर्ने।

देशको सार्वभौमिकता र अखण्डताको रक्षाका निमित्त आयोजना गरिएका उपरोक्त संघर्षका कार्यक्रमहरुमा सम्पूर्ण देशभक्त जनतालाई सहभागि बन्न अपिल गरिएको छ ।

अभिवादन सहित
सी पी गजुरेल
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल