राजधानीको कलेजभित्रै छात्रा बलात्कृत, पीडक प्रहरी नियन्त्रणमा

काठमाडौं, फागुन ८ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन्। क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा शुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन्।

 

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्र्स क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ। माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई प्रहरीले बुधबार मात्र गराएको हो।

 

आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुव्र्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन्। पीडित छात्राले आफूले चिच्याएर प्रतिकार गरे पनि कसैले नसुनेको र झ्यालहरूमा पर्दा भएकाले बाहिरका व्यक्तिले नदेखेको जानकारी गराएकी छन्। बलात्कारपछि पीडित छात्रा पीडा लिएर घर फर्किएकी थिइन्। बलात्कारबाट अत्यधिक रक्तश्राव भएपछि उनले आफ्ना साथीहरूलाई घटनाका बारेमा जानकारी गराएसँगै घटना क्याम्पस प्रमुखसमक्ष पुगेको थियो।

 

बलात्कारपछि रक्तश्रावका कारण पीडित छात्रा तीन दिन अस्पतालमा भर्नासमेत भएकी थिइन्। साथीको साथ लिएर पीडक ढकालमाथि कारबाही गर्नुपर्ने माग गर्दै पीडित छात्रा क्याम्पस प्रमुख जीवनकुमार भट्टराईसमक्ष पुगेकी थिइन्। पीडित किशोरीले आफू बलात्कृत भएको मौखिक उजुरी गरेपछि प्रहरीमा जान सुझाव दिएको नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख भट्टराईले जानकारी दिनुभयो।

 

क्याम्पस प्रमुख भट्टराईले क्याम्पस परिसरभित्र यस्तो घटना हुनु दुःखद र गम्भीर भएको बताउँदै प्रहरीसमक्ष उजुरी गर्न पीडित छात्रालाई आग्रह गरेको बताउनुभयो। लगत्तै पीडित महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा पीडक ढकालका विरुद्ध किटानी जाहेरी दिएकी र प्रहरीले पनि तत्काल कारबाही शुरू गरेको थियो।

 

महानगरीय पहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले बलात्कारमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो। प्रहरीका अनुसार पीडक छात्राले आफूले बलात्कार गरेको स्वीकारेका छन्।

 

मुलुकी अपराध (संहिता)ऐन–२०७४ को दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बलात्कार गर्ने अपराधीलाई सात वर्षदेखि १० वर्ष कैद हुने प्रावधान छ।

 

पीडक ढकालका साथीहरूले पीडित छात्रालाई मुद्दा फिर्ता लिन दबाब दिएका कारण दुरुत्साहनको अभियोगमा ती व्यक्तिहरू पनि कारबाहीको दायरामा पर्ने सम्भावना छ। नेपाल समाचारपत्रमा खबर छ।