कुन मुलुकमा कस्तो लकडाउन: विज्ञ भन्छन्– लकडाउन महामारीविद्ले खोल्नुपर्छ, अर्थशास्त्रीले होइन

काठमाडौं, बैशाख १६ । कोरोना संक्रमणबाट जोगिन विभिन्न मुलुकले लकडाउन गरे पनि यतिवेला धेरैले यसको विकल्प खोज्न थालेका छन् । चीन, भारत, जर्मनी, जर्जिया, अमेरिका, दक्षिण अफ्रिका, सिंगापुरलगायतले फरक ढंगले लकडाउनको विकल्प रोजेका छन् ।

चीन

कोरोना भाइरसको पहिलो प्रकोप फैलिएको चीनको हुवेई प्रान्तको वुहान सहर जनवरी २३ देखि निरन्तर ७६ दिनसम्म लकडाउनमा रहेर अप्रिल ८ पछि सामान्य बन्न खोज्दै छ । पर्याप्त सावधानी अपनाउँदै सामान्य बनाउन खोजिरहेको छ ।

 

तर, न्युयोर्कबाट फर्किएका एक विद्यार्थीबाट संक्रमण फैलिएर ७० जना नयाँ संक्रमित भेटिएपछि २१ अप्रिलबाट हेलोङजियाङ प्रान्तको होर्विन सहरलाई भर्चुअल लकडाउनमा राखेको समाचारहरूमा उल्लेख छ । अहिलेसम्म चीनले संक्रमण भेटिएका स्थानलाई मात्र लकडाउनमा राखेको छ, अन्य मुलुकले जस्तो पूरै मुलुक लकडाउन गरेको छैन ।

भारत

गत मार्च महिनाको २४ तारिखदेखि पूरै लकडाउनमा रहेको हाम्रो छिमेकी मुलुक भारतले मे ३ सम्म लकडाउन कायम राख्ने भएको छ । तर, लामो समयको लकडाउनले जनजीवन ज्यादै अस्तव्यस्त बन्न थालेपछि हिजो २४ अप्रिलबाट भने भारतीय सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ ।

 

अबदेखि भारतमा संक्रमण कम रहेका स्थानका आवास क्षेत्र र त्यसनजिकै रहेका खाद्यान्नलगायत अत्यावश्यक वस्तु तथा सेवाका पसलहरू खुल्न पाउनेछन् । त्यसैगरी, ग्रामीण एवं साना सहरका सबै पसलहरू खोल्न पाइनेछ ।

 

आवासीय भवनमा रहेका सैलुन, टेलर एवं अन्य गैरअत्यावश्यक वस्तु तथा सेवाहरूसमेत खुल्न पाउनेछन् । तर, ठूला सपिङ मल एवं भिडभाडयुक्त बजार क्षेत्रका पसलहरू भने कुनै पनि खोल्न पाइनेछैन । मल, सिनेमा हल, मल्टिब्रान्ड एन्ड सिंगल ब्रान्ड सप, सपिङ कम्प्लेक्स, मलभित्रका बुटिक, लिक्वयर सपहरू भने बन्द नै रहनेछन् ।

 

सरकारले खोल्न पाइने र नपाइने पसल एवं व्यवसायहरूको सूची जारी गरेको छ । यद्यपि, राज्य सरकारले संक्रमणको स्तर हेरी लकडाउन कसिलो वा खुकुलो बनाउन सक्नेछन् । युपीको सरकारले आगामी ३० जुनसम्म कुनै पनि सार्वजनिक जमघट गर्न नपाइने नियम लगाएको छ ।

जर्मनी

सबैभन्दा धेरै संक्रमित हुने मुलुकको सूचीमा पाँचौँ नम्बरमा रहेको जर्मनीले पनि आफ्ना नागरिक र अर्थतन्त्रमा पर्दै गएको सकसलाई मध्यनजर गर्दै जारी लकडाउनलाई केही खुकुलो बनाउँदै लान थालेको छ ।

 

जर्मनीको सरकारले अहिले ८ सय वर्गमिटर क्षेत्रफलसम्मका स्टोरलाई हाइजिन एवं सामाजिक दूरीको मापदण्ड पालना गर्दै खोल्न अनुमति दिएको छ । सबै आकारका बुकसप, कार डिलरसिप, बाइकस्टोर खोल्न पाइनेछ । तर, रेस्टुराँ, बार र जिमहरू भने बन्द नै रहनेछन् ।

 

जर्मनीकी चान्सलर एन्जेला मर्केलले अर्थतन्त्रलाई जोगाउन र नागरिकलाई राहत पुगोस् भनेर हिम्मत गर्दै लकडाउन केही खुकुलो बनाउन खोजेको, तर सामाजिक दूरीलगायतका मापदण्ड पालन नभए पुनर्विचार गर्नेसमेत जनाएकी छिन् । जर्मनीले टेस्टको संख्यालाई पनि ह्वात्तै बढाएको छ । उनले हरेक २० हजार मानिसबराबर ५ जनाको स्वास्थ्य टोली परिचालन गर्ने र कन्ट्याक ट्रेसिङ एवं टेस्ट बढाउने पनि घोषणा गरेकी छिन् । तर, लकडाउन कस्तो बनाउने निर्णय भने राज्यहरूमाथि नै छोडिदिएकी छिन् ।

जर्जिया

रसियाको छिमेकी मुलुक जर्जियाको सरकारले चरणबद्ध रूपले लकडाउन खुला गर्दै अर्थतन्त्र सुचारु गर्ने योजना सार्वजनिक गरेको छ । अप्रिल २७ बाट सुरु गरेर आगामी तीन महिनामा ६ चरणमा अर्थतन्त्रलाई पूरै खुलाउने योजना जर्जियाली प्रधानमन्त्री जिओर्गी गोखरियाले गरेका छन् । उनका अनुसार प्रत्येक चरणलाई दुई हप्तामा समीक्षा गरिने र परिस्थिति अनुकूल रहेको लागेमा अर्को चरणमा प्रवेश गरिने जनाइएको छ ।

 

उनले पहिलो चरणमा निजी कार एवं ट्याक्सी सेवा, इकमर्स, डेलिभरी सर्भिस, ओपन एयर मार्केट खुलाउने, दोस्रो चरणमा निर्माण, निर्माण सामग्रीको उत्पादन, कारवास एवं अटो सर्भिस, तेस्रो चरणमा मलबाहेकका खुद्रा एवं होलसेल, प्रकाशन, ओपन मार्केट खोल्ने, चौथोमा सपिङ मल, रेस्टुराँ, बैंक एवं वित्तीय सेवा, ब्युटी सैलुन र पाँचौँ चरणमा क्याटरिङ, अनसाइट रेस्टुराँ एवं बजार क्षेत्र र छैटौँ तथा अन्तिम चरणमा मात्रै मनोरञ्जन, खेल, होटेल एवं शैक्षिक संस्थाहरू खोल्ने योजना सार्वजनिक गरेका छन् । तर, सबैले स्वास्थ्य मन्त्रालयले तय गरेको हाइजिन, सामाजिक दूरी र मास्क आदिको मापदण्ड भने पालन गर्नुपर्नेछ ।

अमेरिका

विश्वमा सबैभन्दा धेरै भाइरस संक्रमण र मृत्युका बाबजुद अमेरिकाले अत्यावश्यक कामविना बाहिर ननिस्किन नागरिकलाई अनुरोध गर्ने, सामाजिक दूरीको निर्देशन जारी गर्ने र केही सेवाहरू बन्द गर्ने निर्णयबाहेक औपचारिक रूपले लकडाउनै भने घोषणा गरेको छैन । केही राज्य खासगरी जोर्जिया, ओक्लोहामा र अलस्का राज्यले भने स्पा एवं सैलुनका साथै रेस्टुराँमाथि लगाइएको प्रतिबन्धसमेत खोलेर जनजीवनलाई सामान्य बनाउने प्रयास गरेका छन् ।

 

‘अहिले अर्थतन्त्र खुलाउने कुरा हामीजस्ता अर्थशास्त्रीलाई होइन, महामारीविद् एवं जनस्वास्थ्य अधिकारीहरूलाई छोडिदिनुपर्छ,’ अमेरिकाको डिपार्टमेन्ट अफ लेबरका प्रमुख अर्थशास्त्री हेइदी सिरहोल्ज भन्छन्, ‘लकडाउन र सामाजिक दूरीले मृत्युदर मात्रै घटाइरहेको छैन, ठूलो आर्थिक नोक्सानीलाई कम गर्न सहयोग गरिरहेको छ । अहिलेका लागि सर्वोत्तम अर्थनीति पनि यिनै हुन् ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले पनि आगामी मे महिनाबाट लकडाउन खुकुलो बनाउने र प्रतिबन्धहरू हटाउँदै लैजाने घोषणा गरेका छन् । गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सावधानी र सुझबुझका साथ आर्थिक क्रियाकलापलाई पुनस्र्थापित गर्दै लाने बताएका हुन् । सतर्कताको पाँचस्तरमा अहिले अफ्रिका पाँचौँ तहको कडा लकडाउनमा रहेको छ ।

 

अब अप्रिल अन्तिमसम्ममा चार तहमा झर्ने र केही व्यवसायहरूलाई सीमित खुला गर्न सजिलो हुने उनको ठहर छ । चार सय संक्रमित र शून्य मृत्यु भएको अवस्थामा सुरु भएको अफ्रिकाको लकडाउनपछि संक्रमितको सख्या बढेर ४२ सय र मृत्युको आँकडाले ८० नाघिसकेको छ ।

सिंगापुर र दक्षिण कोरिया

सिंगापुर लकडाउन नगरीकनै संक्रमण नियन्त्रणमा राख्न सफल छ । त्यहाँको सरकारले अपनाएको कडा कन्ट्याक्ट ट्रेसिङ, टेस्ट, सामाजिक दूरीजस्ता उपायमा नागरिकले पूर्ण परिपालन र सहयोग गरेकाले सिंगापुर भाइरस नियन्त्रणमा राख्न सफल भएको हो ।

 

अहिले पनि सिंगापुरको अर्थतन्त्र सुचारु छ, दैनिकी ठप्प छैन । त्यसैगरी, दक्षिण कोरियाले पनि अहिलेसम्म लकडाउन गर्नुपरेको छैन । कन्ट्याक्ट ट्रेसिङ, प्रशस्त टेस्ट, सामाजिक दूरी र कन्ट्याक्लेस कारोबारजस्ता उपायहरूको अवलम्बन नै दक्षिण कोरियाको सफलता बनिरहेको छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।