१५ वर्षीय किशोरीलाई सामुहिक बलात्कारपछि गाउँ निकाला

इटहरी,जेठ ७ । मोरङको बुढीगंगा गाउँपालिकामा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीलाई अगुवाकै दबाबमा गाउँ निकाला गरिएको छ ।

 

मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा का १५ बर्षीया किशोरीमाथि दुई महिना अगाडि ५ जनाको समूहले सामुहिक बलात्कार गरेको थियो । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुईजनाको समूहले बलात्कार गरेको पीडितको भनाई छ । पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि प्रहरीले नै बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई छाडिदिएको पीडितको भनाई छ ।

 

‘प्रहरी प्रशासनले मुख्य मानिसलाई नै छाडेको छ, पीडित किशोरीकी आमाले राजधानीसँग भनिन्, ‘बलात्कारपछि अन्य केटाहरुले राती–राती हाम्रो घरमा आएर जहिल्यै हप्काउने गरे ।’ उनले आफ्नी छोरीलाई बलात्कार गरिएपछि गाउँका अगुवाहरुले नै मिल्न दबाब दिएको बताउँदै भनिन्, ‘सुरुमा चारजनालाई पक्राउ गरिए पनि, पछि दुईजनालाई छाडियो ।

 

प्रहरीले ती तीनजनालाई वैशाख ९ गते पक्राउ गरेको थियो । तर, पक्राउ गरे पनि पीडितलाई न्याय नदिलाएको ती पीडित किशोरीकी आमा बताउँछिन् । ‘केटाहरुको आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ उनले आँखाभरी आँसु पार्दै भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’

 

पीडित किशोरीकी आमाले भनिन्, ‘बलात्कारपछि अन्य केटाहरुले राती–राती हाम्रो घरमा आएर जहिल्यै हप्काउने गरे

बलात्कृत महिला भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिष्कार गरेकोप्रति स्थानीय अगुवाहरुले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ ।

 

‘हामीले कहिँ गएर पनि न्याय पाएनौँ, उनले भनिन्, ‘सबैले मिल्न दबाब दिए, न्याय त पाउँनुपर्यो नि ।’ उनका अनुसार ती किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ । ‘बच्चा पेटमा हुर्किरहेको छ, छोरी केही पनि खादिँन,’ उनले भनिन्, ‘मानसिक रुपमा कमजोर हुँदै गएको अवस्था छ, बस्दै गरेको ठाउँ नै छाड्नुपर्ने अवस्था आयो ।

 

 उनले आँफूलाई सुरक्षाको कुनै प्रत्याभूति नभएको बताउँदै भनिन्, ‘अरुभन्दा पनि हाम्री छोरीको अवस्था नाजुक छ, हामीले विराटनगर मै गएर उजुरी गर्दा पनि हामीलाई उल्टै हप्काइयो ।’ उनले आँफूले न्याय नपाएकोप्रति प्रहरी प्रशासनमा बारम्बार जानकारी गराउँदा पनि नसुन्ने गरेको बताईन् ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामबहादुर ढकालले भने ५ जनाले सामूहिक बलात्कार गरेको भएपनि दुईजना नाबालक भएका कारण अदालतले नै छाडेको जिकिर गरे । उनले टेलिफोन सम्पर्कमा भने, ‘५ जनामा ४ जना पक्राउ गर्यौँ, एकजना कपिलबस्तु तिरका रहेछन्, ती व्यक्ति गईहाले, दुईजनालाई भने नाबालक भएका कारण अदालतले नै छाडेको हो ।

 

उनका अनुसार अहिले दुईजनालाई भने प्रहरीले जबरजस्ती करणीमा मुद्धा चलाइसकेको छ । गाउँबाट नै निकाला गरियो रे नि भन्ने प्रश्नमा ढकालले भने, ‘हामीसँग उजुरी आउँन पर्यो नि सुरुमा, जिल्लामा आएर भन्नुस् भनेका छौँ, हामी कारबाही गर्छौँ ।’ उनले गाउँबाट निकाला गरिएको उजुरी गरेमा जो कोही कानुनी कारबाहीको बाटो अबिलम्बन गर्ने बताए । ‘मान्छेले प्रहरीलाई दोष देखाएर हुँदैन,’ उनले भने, ‘हामीले कारबाही गर्ने पाटोमा अलिकति पनि पछि हट्नेछैनौँ, त्यहाँ बस्न समस्या छ भने हामी कारबाही गर्छौँ।राजधानी दैनिकमा खबर छ।