आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने

काठमाडौं,जेठ १४।विश्वभर महामारीका रूपमा देखापरेको कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा पनि गम्भीर असर पर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपूर्व सरकारले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आर्थिक सर्वेक्षणमा यस्तो संकेत देखाइएको हो ।

 

चालू आवको आठ महिनासम्म देशको अर्थतन्त्र सामान्य अवस्थामा नै रहे पनि तत्पश्चात् देशमा कोभिड–१९ को संक्रमण रोक्न गरिएको बन्दाबन्दीको असर समग्र अर्थतन्त्रमा पर्न गएको हो । अर्थतन्त्रमा परेको असरका कारण नेपालको आर्थिक वृद्धिदरमा उच्च संकुचन हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आवको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने उल्लेख गर्नुभएको छ । सरकारले चालू आवमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो ।

 

नेपालमा कोभिड–१९ को असर देखापर्न थालेपछि केन्द्रीय तथ्यांक विभागले चालू आवमा आर्थिक वृद्धिदर २ दशमलव २८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । कोभिड–१९ को असरपूर्व नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर औसत ७ दशमलव ३ प्रतिशत रहेको अवस्थामा सरकारले ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउने दाबी गर्दै आएको थियो ।

 

कोभिड—१९ महामारीका कारण विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा एसियाली विकास बैंकलगायतका संस्थाले विश्व आर्थिक मन्दीतर्फ उन्मुख भएको बताएका छन् । सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले संकुचित हुने ती संस्थाको प्रक्षेपण छ । चालू आवमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको वृद्धिदर क्रमशः २ दशमलव ५, ३ दशमलव ४ र २ प्रतिशत रहने अनुमान गरिएको छ ।

 

त्यस्तै सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा संकुचन आउँदा चालू आवको कुल लगानी गत आवको तुलनामा ३ दशमलव ४ प्रतिशतले संकुचन आउँदै १८ खर्ब ८९ अर्ब २६ करोड रुपियाँमा सीमित भएको छ । यद्यपि, वैदेशिक लगानी भने बढेको छ । चालू आवमा उद्योग विभागबाट २६ अर्ब ६७ करोड र लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब रुपियाँको लगानी स्वीकृत भएको छ । चालू आवमा प्रतिव्यक्ति आय गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ हजार अर्थात् १ हजार ८५ अमेरिकी डलर पुग्ने अनुमान छ । आर्थिक वर्ष २०७६/०७७ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलर १०३९ रहेको थियो ।

 

चालू आवमा प्रदेशगत कूल ग्रार्हस्थ्य उत्पादनको वृद्धिदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४ दशमलव १ र बाग्मती प्रदेशमा सबैभन्दा कम १ दशमलव २ प्रतिशत हुने अनुमान गरिएको छ । साथै प्रदेश नम्बर १ को ३ दशमलव ४, प्रदेश नम्बर २ को २ दशमलव ३ प्रतिशत, गण्डकी प्रदेशको २ दशमलव ७ र कर्णाली प्रदेशको ३ दशमलव ६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान छ ।

 

फागुन मसान्तसम्म कुल सरकारी खर्च गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ६८ करोड रहेको छ । सरकारी खर्चमध्ये चालू खर्च चार खर्ब ५० अर्ब ७८ करोड, पुँजीगत खर्च ९६ अर्ब ४८ करोड र वित्तीय व्यवस्था ६३ अर्ब ४२ करोड छ ।नेपाल समचारपत्रबाट,