रुकुम घटनाबारे गृहमन्त्रीको तर्क : अमेरिकामा पनि विभेद अन्त्य भएको छैन

काठमाडौँ,जेठ २१। गृहमन्त्री रामबहादुर थापाले रुकुममा भएको घटनाबारे संसदीय समितिमा जवाफ दिने क्रममा अमेरिकामा पनि जातीय विभेद् कायम रहेको बताएका छन् ।

 

मंगलबार रुकुम पश्चिममा दलित युवाहरुको हत्याको विषयमा जवाफ दिन मन्त्री थापा पुगेका थिए । त्यस क्रममा उनले अमेरिका जस्तो लोकतन्त्रको पाठ सिकाउने देशले पनि विभेद अन्त्य गर्न नसकेको तर्क गरेका हुन् ।

 

लोकतन्त्रको उच्चतम रुप भएको अमेरिकामा पनि विभेद अन्त्य नभएको उदाहरण दिँदै उनले रुकुम घटनालाई जोडेका थिए । मार्टिन लुथर किङको हत्याको उदाहरण पनि उनले जवाफको क्रममा पेश गरेका थिए ।

 

साथै अमेरिकामा जर्ज फ्लोइडको हत्याको घटनालाई जोडेर त्यहाँ पनि आन्दोलन भएको तर्क मन्त्री थापाको थियो । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिमको घटनालाई मानवअधिकार विरुद्धको अपराध ठहर गर्दै छानवीन गर्न निर्देशन दिएको छ ।

 

जाजरकोटका नवराज बिकसहित पाँचजना युवकलाई हत्या गरी भेरी नदीमा फालेपछि देशव्यापी रुपमा त्यसको विरोध भएको छ । घटनामा एक वेपत्ता छन् भने १२ जना घाइते भएका थिए । कथित उपल्लो जातकी युवतीसँग प्रेमपछि विवाह गर्न जाने क्रममा नवराजको हत्या गरिएको बताइएको छ ।अन्नपूर्ण पोष्टमा खबर छ।