नेपाली सेनाका शव व्यवस्थापनमा खटिएका एक जनामा कोरोना संक्रमण

काठमाडाैं,असार २। ताप्लेजुङ घर भइ दाङको घोराहीमा कार्यरत एक नेपाली सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ। बेलझुण्डी कोरोना विशेष अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले ३३ वर्षीय ती नेपाली सेनालाई सोमबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

 

संक्रमितलाई आजै अस्पतालको आइसोलेनसनमा ल्याइएको वलीले बताए। ‘उहाँको पद खुलाइएको छैन,’ वलीले भने ‘ हामीलाई नेपाली सेना भन्ने मात्रै जानकारी दिइएको छ।

 

ती सैनिकलाई शव व्यवस्थापन गर्ने क्रममा संक्रमण भएको स्वास्थ्यकर्मीले बताएका छन्। यसअघि उनी घोराही उपमहानगरपालिका १८ अम्वापुरका एक ५९ वर्षीय कोरोना पुष्टि भएको शव व्यवस्थापनमा खटिएका थिए।

 

दिल्लीमा उपचारका क्रममा मृत्यु भएपछि अन्तिम संस्कारका लागि दाङ ल्याइएका मृतकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शंका लागेर पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। ती मृतकको शव घोराहीकै एक जंगलमा लगेर गाडिएको थियो।

 

उनैको शव व्यवस्थापनमा खटिएका सैनिकलाई कोरोना संक्रमण भएको स्वास्थ्यकर्मीले बताएका छन्। ‘शव डिस्पोजकै क्रममा उहाँलाई कोरोना संक्रमण भएको देखिएको छ,एक स्वास्थ्यकर्मीले भने।

एक गर्भवती महिला पनि संक्रमित

दाङमा एकजना २० वर्षीया गर्भवती महिलालाई पनि कोरोना संक्रमण देखिएको छ।

बंगलाचुली गाउँपालिका वडा नं. ६ की ती महिला जेठ १३ गते भारतबाट आएपछि सरस्वति विकास केन्द्र बचैनी क्वारेन्टिनमा बसेकी थिइन्।

गाउँपालिकाकी सिनियर अनमी इन्द्रा घर्तीले उनको सुत्केरी हुने समय साउनमा रहेको बताइन्। ‘उहाँलाई तीन दिन अगाडि संक्रमण पुष्टि भएको हो र उहाँ घोराहीमै आइसोलेसन बस्छु भनेर यहाँबाट जानु भएको छ,’ घर्तीले भनिन्।सेताेपार्टीबाट,