नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत गाउँमा फोरजी सेवा विस्तार

 

काठमाडौं,असोज १६। गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको नेपाल टेलिकमले जनाएकाे छ।

 

सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो।

 

मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको सेवा बिस्तार गरेपछि स्थानीय खुसी भएका छन्।

 

गोरखाको बारपाक–सुलिकोट गाउँपालिका–३ स्थित रातमाटेमा बिटिएस राखेर आसपासका गाउँमा सेवा दिनेगरि चौथो पुस्ताको फोरजी सेवा बिस्तार गरेको टेलिकम कार्यलय पोखराले जनाएकाे छ।  

 

 यो सेवाले अब उपल्लो भेगमा सञ्चार पहुँचमा सहज हुने बताइएकाे छ। ‘सबै ठाउँमा सहज इन्टनरेट र फोन सेवा उपलब्ध गराउने प्रयासमा लागिरहँदा यो सेवा बिस्तार गरिएको टेलिकमले जनाएकाे छ।  

 

  गण्डकी प्रदेशका करिब ८५ प्रतिशत स्थानीय तहमा फोरजी सेवा बिस्तार भईसकेको टेलिकमले जनाएकाे छ। अब गोरखा, मनाङ लगायतका जिल्लाको उपल्लो भेगमा मात्र यो सेवा पुग्न बाँकी रहेका टेलिकमले जनाएकाे छ।  

 

आगामि मंसिरसम्म गण्डकीका सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार गर्ने याेजना रहेकाे टेलिकम स्राेतले जनाएकाे छ।   शुक्रबार सेवा पुगेको गोरखाको यो गाउँ र आसपासका क्षेत्रमा यसअघि कुनैपनि कम्पनीको मोवाइल सेवा नरहेकाे टेलिकम स्राेतले जनाएकाे छ। 

 

जिल्ला सदरमुकामबाट करिब ४५ किलोमिटर टाढाको यो गाउँमा फोरजीसँगै गाउँलेलाई निशुल्क सिमकार्ड पनि वितरण गरिएको टेलिकम पोखराले जनाएकाे छ।  

 

गोरखाको उपल्लो भेगमा फोरजी सेवा पाउने यो नै पहिलो गाउँ पुगेको छ। सुलिकोट भन्दा माथिल्लो भेगमा अझै सेवा पुग्न बाँकी रहेको छ।  

 

फोरजीमा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्छ। सेवा बिस्तारसँगै यहाँ ३ सय सिमकार्ड पनि वितरण गरिएको छ। स्थानीयले निशुल्क सिम पाएका छन्।

 

सिमकार्डमा १० रुपैयाँको कल भ्यालु, ६० एमबी डाटा र ६० मिनटसम्म निशुल्क कुरा गर्न पाउने सेवा पनि छ।यो सेवाको शुभारम्भ गरिएकाे टेलिकमले जनाएकाे छ।  

 

स्थानीयका अनुसार यसअघि गाउँमा कुनै पनि मोवाइल सेवा पुगेकाे थिएन। गाउँका चिसापानी, रातमाटे, चित्रे, पासाभित्ता लगायतका गाउँमा मोवाइल सेवा पुग्न नसकेको स्थानीयले बताए।

 

त्यस्तै ७ नम्बर वडाको अमले, ढोडेनी, धारापानी क्षेत्रमा पनि मोवाइलको कुनै पनि सेवा थिएन। टेलिकमले फोरजी सेवा बिस्तार भएपछि इन्टरनेटमा बढी सहज भएको स्थानीयले बताएका छन्।