अकासियो तरकारी मूल्य : अधिकांश तरकारीको मूल्य सय रुपैयाँ माथि !

काठमाडौं,असोज २१। कोभिड–१९ का कारण रोजगारी र आम्दानी गुमिरहेका बेला आम उपभोक्तालाई अर्को पिरलो थपिएको छ। कोभिडबाट जोगिन शक्तिवद्र्धक तरकारी तथा फलफूल खानुपर्छ। तर भाउ अचाक्ली बढेपछि न्यून आम्दानी हुनेले दिनहुँ तरकारी किनेर खान कठिन भएको छ।

 

अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपैयाँमाथि पुगेको छ। कोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको हो। वर्षा सकिएर हिउँदे तरकारी उत्पादन हुने सिजन सुरु भए पनि अधिकांश तरकारीको मूल्य बढेपछि उपभोक्ता चिन्तित छन्।

 

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार गत भदौ २० गते २८ रुपैयाँ किलोमा बिक्री भएको घिरौंलाको मूल्य तीन सय १० प्रतिशत बढेर मंगलबार एक सय १५ रुपैयाँ किलो पुगेको छ।

 

हरेक दिन भान्सामा प्रयोग हुने प्याजको भाउ ५१ रुपैयाँ किलोबाट बढेर एक सय १५ पुगेको छ भने आलुको मूल्य एक सय पाँच रुपैयाँ छ। काउली एक सय १५ रुपैयाँ किलो, रायो साग सय, बोडी एक सय १०, हरियो प्याज एक सय ५५, गान्टे मूला सय, घिउ सिमीको मूल्य एक सय १० र भिन्डीको एक सय पाँच रुपैयाँ छ।

 

हरियो धनियाको मूल्य किलोको दुई सय २५, लसुन दुई सय ५५, हरियो खुर्सानी एक सय १५ रुपैयाँ किलो रहेको छ। खुर्सानीको भाउ एक सय नौ प्रतिशत, लसुनको भाउ एक सय चार प्रतिशत, धनियाको भाउ ५५ प्रतिशतले बढेको छ।

 

तिते करेला ३३ रुपैयाँ किलोबाट एक सय ५८ प्रतिशत बढेर ८५ रुपैयाँ, लौकाको मूल्य ४२ बाट ६७, परवल ६८ बाट बढेर एक सय १५, गाजरको मूल्य ५२ बाट ९८ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ। खुद्रा बजारमा पुग्दा तरकारीको मूल्य अझै धेरै पुग्छ।

 

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन घटेर उपत्यकामा कम तरकारी आएकाले भाउ महँगो भएको बताए। ‘तराईबाट तरकारी आएको छैन,’ घिमिरेले भने, ‘काठमाडौं आसपासको उत्पादनले नपुगेपछि महँगो भयो।’ घिमिरेका अनुसार कालीमाटीमा विगतमा दैनिक सातआठ सय टन तरकारी आउने गरेकोमा अहिले पाँच सय टनमात्र आयात भएको छ।

 

कोभिडविरुद्ध इम्युनिटी पावर बढाउन तरकारी र फलफूल खानुपर्ने भए पनि मूल्य छोइनसक्नु भएपछि सर्वसाधारण दोहोरो चिन्ताको मारमा छन्।

 

यहाँ स्वदेशीमात्र नभएर भारतलगायतका मुलुकबाट पनि तरकारी आउँछ। आलु भारत, बंगलादेश, भुटानमा समेत महँगो भएकाले भाउ बढेको उनले बताए। काठमाडौंमा चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रे, भक्तपुरलगायतका जिल्लामा उत्पादन भएको तरकारी बिक्री हुन्छ।

 

भारतले नेपालमा निर्यात गर्न प्रतिबन्ध लगाएपछि प्याजको भाउ बढे पनि अन्य तरकारीको भाउ समेत अस्वाभाविक ढंगले बढेको छ। केही व्यापारीले प्याजको कालोजबारी गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याज जफत गरेर ६० रुपैयाँ किलोमा बिक्री गरेको थियो।

 

एकातर्फ आम्दानी गुमेको छ भने अर्कोतर्फ दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा उपभोक्ता मारमा छन्। रोजगारी गुमाएका, दैनिक ज्यालादारी गरेर घर चलाउनेहरु चिन्तित छन्। कोभिडविरुद्ध इम्युनिटी पावर बढाउन तरकारी र फलफूल खानुपर्ने भए पनि तरकारीको मूल्य छोइनसक्नु भएको ढुंगेधारा तरकारी बजारमा भेटिएकी मनु रिजालले बताइन्। ‘सबै तरकारीको मूल्य किलोको एक रुपैयाँ भन्दा धेरै छ,’ रिजालले भनिन्, ‘भान्सा चलाउन हम्मे प¥यो।’

 

कोभिडका कारण समयमा बीउ, मल नपाउँदा र बजार सुनिश्चित नहुँदा उत्पादन घटेको किसान बताउँछन्। नयाँ तरकारी बजारमा नआएकाले भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। ‘नयाँ उत्पादन नआउँदासम्म मूल्य घट्न कठिन छ,’ उनले भने।

 

गत चैतदेखि लकडाउन हुँदा उत्पादित तरकारीले बजार नपाएपछि किसान डराएर तरकारी खेती घटाएका थिए। लकडाउनका बेला किसानले लागतभन्दा कम मूल्यमा बिक्री गरेका थिए। केही किसानले बारीमा नै नष्ट गरेका थिए।

 

बिचौलियाको कारण पनि किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खानुपर्ने बाध्यता छ। तरकारीको खरिद मूल्य महँगो भएको ढुंगेधारामा तरकारी व्यापार गर्दै आएका प्रमोद महर्जनले बताए। ‘खरिद नै महँगो भएपछि भाउ बढ्ने नै भयो,’ उनले भने।

 

सरकारी संयन्त्रले प्रभावकारी अनुगमन नगर्दा व्यापारीले मनोमानी ढंगले उपभोक्तासँग मूल्य असुलेको आरोप उपभोक्ता अधिकारकर्मी लगाउँछन्। उपभोक्ता ठग्नेलाई कारबाही नहुँदा तरकारीको मूल्यमा मनोमानी बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले बताए। ‘राज्यका निकायले बजारमा हस्तक्षेप गर्न सकेका छैनन्,’ उनले भने, ‘बिचौलिया हाबी हुँदा किसान र उपभोक्ता मर्कामा छन्।

 

बजारमा हुने कालोबजारी र बिचौलिया प्रवृत्ति नियन्त्रण गर्न सक्रियता बढाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। बजार अनुगमनका लागि पर्याप्त टोली खटाएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए। ‘दैनिक उपभोग्य वस्तुसहित तरकारीको पनि अुनगमन गरेका छौं,’ आचार्यले भने। नागरिक दैनिकमा खबर छ।