एक नर्समाथि आठ जना शिशुको हत्या आरोप

एजेन्सी। ब्रिटेनको चेस्टर अस्पतालकी एक नर्समाथि आठ जना शिशुको हत्या गरेको र अन्य १० शिशुको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

 

३० वर्षीया लुसी लेटबीलाई यसअघि पनि सन् २०१८ र सन् २०१९ मा छानबिनका लागि पक्राउ गरिएको थियो। उनीमाथि लगाइएका आरोपहरू २०१५ जुनदेखि २०१६ जुनसम्म अस्पतालमा भएका घटनाहरूसँग सम्बन्धित छन्।

 

बीबीसीका अनुसार हेरफर्डकी लेटबीलाई वरिङ्गट म्याजिस्ट्रेट अदालतमा बिहीवार पेस गरिनेछ। सन् २०१७ मा सुरु भएको अनुसन्धानका क्रममा प्रहरीले उनलाई मङ्गलवार पक्राउ गरेको हो।

 

प्रहरीले जारी गरेको एउटा विज्ञप्तिमा भनिएको छ, द क्राउन प्रोसीक्यूसन सर्भिसले चेस्टर अस्पतालमा कैयौँ बच्चाहरूको मृत्युको बारेमा गरिएको अनुसन्धानका क्रममा स्वास्थ्य सेवामा कार्यरत अधिकारीलाई हत्यासम्बन्धी अभियोग लगाउन प्रहरीलाई अधिकार दिएको छ।

 

प्रहरीले मङ्गलवार घटनामा संलग्न सबै बच्चाका अभिभावकहरूलाई पछिल्लो घटनाबारे पूर्णरूपमा जानकारी गराइएको र उनीहरूलाई प्रहरी अधिकारीहरूले सहयोग गरिरहेको बताएको थियो।