नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ,मंसिर २८। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दैछ । गत मंसिर २१ गते बसेको बैठकले विवाद समाधानको खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरेको थियो ।

 

यसबीचमा दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताए पनि ठोस निस्कर्ष भने निस्किन सकेको छ ।

 

बैठक आज दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरूले बताएका छन् ।

 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका ओलीले यो बीचमा गरेका सहमतिका प्रयास असफल भएका छन्।

 

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको बताउँदै आएका छन्।

 

मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै प्रस्तावका नाममा आएको दाहालको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका ओलीले आजको बैठकमा उनले आफूविरूद्धको अभियोगको प्रतिवाद गर्ने तयारी गरेका छन् । तर, उनले अझै पनि अर्का अध्यक्ष दाहाललाई फकाउने प्रयास जारी राखेका छन्।

 

बिहीबार दाहालसँग करिव डेढ घण्टा भएको छलफलमा कुनै ठोस सहमति नभएपछि उनले निकटस्थहरूलाई उपयोग गर्दै दाहाललाई सहमतिमा ल्याउने कोसिस जारी राखेका छन् । तर पनि सफल हुन सकिरहेका छैनन्।

 

शनिबार मात्रै ओली निकट नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्का अध्यक्ष दाहाललाई भेटेका छन् । सो भेटमा के कुराकानी भयो केही खुलाइएको छैन।

 

यद्यपि छलफलका एजेण्डामा सहमति भएपछि उनी आजको स्थायी कमिटी बैठकमा सहभागी हुने बुझिएको छ ।नेकपा महासचिव विष्णु पौडेलले पनि आजको बैठकमा ओली सहभागी हुने बताएका छन् ।

 

आफू निकट नेताहरूले पनि बैठकमा सहभागी भएर प्रतिवाद गर्न सुझाएपछि ओलीलाई बैठकमा सहभागी हुन, आफ्नो कुरा त्यहीँ भन्न र कमिटीको निर्णयअनुसार चल्न दबाब बढेको छ ।उता नेता नेपालले दुई अध्यक्षको मात्रै सहमति आफूलाई मान्य नहुने र कमिटीको निर्णय अनुसार चल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

 

दाहालले आफ्नो प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै कुनै एक पद छाड्न ओलीलाई दबाब दिएका छन् । दोस्रो तहका नेताहरूले दाहाललाई भदौ २६ को सहमति पूर्णरूपमा कार्यान्वयन हुने गरी सहमत हुन आग्रह गरेका छन् ।

 

तर, दाहालले त्यसलाई पनि अस्वीकार गरेका छन् । भदौ २६ को सहमति ओलीले नै उल्लंघन गरेको दाहालको आरोप छ । पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

 

दाहाल—नेपाल पक्षले स्थायी कमिटी बैठकमा पनि सहमति नजुटे केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद वारपार गर्ने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठक पुस ५ मा बोलाइएको छ ।

 

मङ्सिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।