कोरोना नियन्त्रणमा सरकारकै लापरबाही

काठमाडौं,मंसिर २८। सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोगको नियम लागु गरिरहे पनि त्यसको उल्लंघन आफैं गरिरहेको पाइएको छ।

 

प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२० को पालनामा बेवास्ता गर्दै भाषण, उद्घाटन, जमघट, पार्टी, यात्रा, घुमफिर, बिहेलगायत कार्यक्रममा सहभागी हुने गरेका छन्।

 

मंसिर ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ पुगेर ‘मास’ लाई सम्बोधन गरे। पर्यटनमन्त्री योगेश भट्टराई, मुख्यमन्त्री शेरधन राई, नेता सुवास नेम्बाङ पनि ओलीसँगै ताप्लेजुङ पुगेका थिए।

 

ताप्लेजुङको घुन्सामा बनेको स्वास्थ्य चौकी उद्घाटन गर्न पुगेका ओलीलाई ठूलै भिडले स्वागत गर्‍यो। त्यसबखत ओलीले कोरोना नियन्त्रणमा सरकारले बनाएका नियमकानुन सबै बिर्सिए।

 

त्यस्तै मंगलबार कीर्तिपुरस्थित ज्येष्ठ नागरिक भवन शिलान्यास कार्यक्रममा पनि प्रधानमन्त्री ओली सरिक हुँदा उसैगरी भिडभाड बढ्यो। कोरोना संक्रमणलाई पर्वाहै नगरी ओलीको जोसिलो भाषणले भिडलाई ततायो।

 

कोरोना संक्रमण बढिरहेका बेला ओलीले कोरोनाभन्दा बढी भाषण राजनीतिक विषयमा गरे। यसरी कोरोना महामारीलाई नियन्त्रण गर्न सर्वसाधारणलाई भिडभाडजन्य गतिविधि नगर्न लिखित र मौखिक निर्देशन दिँदै आएको सरकार नै संक्रमणको जोखिम बढाउने गतिविधिमा सरिक भएको छ।

 

सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली नै भिडभाडजन्य गतिविधि र मास भेलामा सहभागी हुँदै आएका छन्। प्रधानमन्त्रीले नै कोरोना संक्रमणलाई वास्ता नगरेपछि कोभिड नियन्त्रणका लागि सरकारले बनाएको मापदण्ड फितलो बनेको छ।

 

यसबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बोल्न अस्वीकार गरे। ‘यसबारे मैले बोल्दिनँ, प्रधानमन्त्रीज्यू पुगेको ठाउँमा भिडभाड छैन,’ उनले भने, ‘अन्य कुरा अरूलाई नै सोध्नुस्।

 

त्यसो त सरकारको विरोध गर्नेलाई भने कोरोनाको बहाना बनाउँदै ओली नेतृत्वको सरकारले कडाइ गर्दै आएको छ। १० दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शन रोक्न भन्दै लिखित निर्देशन दिएको थियो।

सामान्य होइन संक्रमण दर

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन। परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ। दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि १२ सयका बीचमा देखिएको छ।

 

दैनिक २० जनाभन्दा बढीको मृत्यु भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आम नागरिक नै कोरोना नियन्त्रणमा जिम्मेवार नबनेको बताए। ‘सरकारले त आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ उनले भने, ‘आम सर्वसाधारणले पनि आफ्नो दायित्व बुझ्नुपर्‍यो नि।’

 

कोरोना भयावह बनिरहेका बेला सरकारकै खेलाचीका कारण संक्रमण झन् बढेको विज्ञहरूको भनाइ छ। जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले कोरोना दर बढिरहेका बेला सरकारले पनि आफ्नो ठाउँ छाडिसकेको बताए।

 

उनले परीक्षणका दायरा घटाएर संक्रमण दर कम देखाए पनि भित्रभित्रै संक्रमण बढिरहेको जानकारी दिए। ‘सरकारले सुरुदेखि नै हेलचक्र्याइँ गर्दै आएको छ।

 

अहिले त झन् कोरोना छ वा छैन भन्ने नै बिर्सिएझैं देखिन्छ,’ उनले भने, ‘न त संक्रमण रोक्न सरकार जिम्मेवार छ न त आम नागरिक नै।’ उनले कोरोनालाई खेलाची ठान्दा चिसोमा संक्रमण दर भयावह हुने देखिएको जानकारी दिए।

मन्त्रीका छोराको बिहेमा भिड

कोरोना नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरा र गृहमन्त्री रामबहादुर थापाका छोराले गत सोमबार तामझामका साथ विवाह गरे।

 

कोरोना नियन्त्रणका विषयमा प्रमुख जिम्मेवारी सम्हालेका यी दुई मन्त्रीले छोराको बिहेमा जन्ती र पाहुनाको भिड नै जम्मा गरे। प्रहरीले सुटुक्क साथ दिएपछि पार्टी र बिहे भेलाको हल्लै भएन।

 

गृहमन्त्री थापाका छोराले पोखरामा बिहेको पार्टी दिए, पुल्चोकस्थित मन्त्रीनिवासमै पनि भिडभाड बढाएका थिए। त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्तका छोराको बिहेमा पनि मुख्य नेताहरूलाई डाकेर काठमाडौंमै पार्टी आयोजना गरिएको थियो।

पार्टी प्यालेस र घरघरमा भिड

कोरोना संक्रमण बढिरहेका बेला मंसिरमा बिहेका कार्यक्रम भने रोकिएनन्। लकडाउनका कारण चौपट बनेका पार्टी प्यालेस र रेस्टुरेन्टले मंसिरमा भिडभाड गराएरै भए पनि आम्दानी गरिरहेका छन्। ती ठाउँहरू बिहेको पार्टी दिने र खान आउनेको भिड उस्तै छ।

 

सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नदिने नियम लागु गरे तापनि पछिल्लो समय अत्यधिक भीडभाड र जमघट बढेको हो। साधारण तरिकाले बिहे र अन्य सांस्कारिक कार्यक्रम आयोजना गर्न भनिए पनि तडकभडक हुँदा कोरोना संक्रमण फैलन सक्ने डर देखिन्छ।

 

त्यसो त ती ठाउँहरूमा भएको भिडभाड नियन्त्रण गर्न प्रहरी प्रशासनले चासो दिएको छैन। सरकारले सातातिना व्यवसाय तथा रेस्टुरेन्ट खोल्न अनुमति दिएको भन्दै प्रहरीले ती ठाउँहरूमा अनुगमन गरेको छैन।

 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले मातहतका प्रहरी कार्यालयलाई भिडभाडबारे अनुगमन गर्न निर्देशन दिइएको दाबी गरे। ‘कोरोनाबारे प्रहरीले दायित्व पूरा गरेको छ, अनुगमन पनि भइरहेको छ,’ उनले भने, ‘यसबारेमा सर्वसाधारण पनि सजग हुनुपर्छ।’

सवारीसाधनमा पनि उस्तै भिडभाड

कोरोना महामारीका कारण लामो समय बन्द रहेको सार्वजनिक यातायात सरकारले मापदण्ड र ससर्त सञ्चालन गरे पनि यातायात व्यवसायीले भने कुनै सुरक्षा मापदण्ड र सर्त पालना गरेका छैनन्।

 

उपत्यकामा जोरबिजोर प्रणाली लागु भइरहेका कारण सार्वजनिक यातायातमा अत्यधिक भीडभाड बढेको छ। सिटमा मात्रै यात्रु बसाल्न पाइने भए पनि यातायात व्यवसायीले मनपरी यात्रुहरू कोचेका छन्।

 

अन्य विकल्प नभएका कारण भिडभाड गरेर बसमा यात्रा गर्नुपरेको लोकन्थली बस्ने नरेन्द्र चुदालीले बताए। उनले जोरबिजोर नियम लागु गर्दा पर्याप्त बस नचकाले सार्वजनिक बसमा कोचिएर यात्रा गर्नुपरेको जानकारी दिए।

 

‘कोरोना महामारीलाई ध्यानमा राख्दै सरकारले यातायातमा स्वास्थ्य सुरक्षा अनिवार्य गरेको थियो,’ उनले भने, ‘तर यातायात क्षेत्रमा कोरोना संक्रमणबाट जोगिन कुनै सुरक्षा माण्दण्ड अपनाइएको छैन।

 

सरकारले दुई सिटमा एकजना यात्रु राख्ने, ढोकामा स्यानिटाइजर राख्ने, यात्रुसँग दूरी कायम राख्ने, मास्क लगाएर मात्रै सवारीसाधनमा बसाल्नेलगायत सुरक्षा अपनाउन निर्देशन दिए पनि यातायात क्षेत्रमा त्यसको पालना भएको छैन।नागरिक दैनिकमा खबर छ।