भारतबाट आयात हुने इन्धन ११ प्रतिशतले घट्यो

काठमाडौं,पुस २८। कोभिड–१९ का कारण भारतबाट हुने इन्धन आयात ११ प्रतिशतले घटेको छ । विश्वभर फैलिएको कोरानाभाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण डिजेल, पेट्रोल, मटीतेल, हवाई इन्धन खाना पकाउने ग्यास लगायतको खपत कम अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले घटेको हो ।

 

लकडाउनका कारण लामो समयसम्म सवारी साधन चल्न नसक्दा इन्धन खपत कम भइ आयातमा कमी भएको नेपाल आयल निगमले जानकारी दिएको छ । कोभिडको प्रभावले इन्धनको आयातसँगै आन्तरिक बजारमा खपत कम भएको थियो ।

निगमका अनुसार आर्थिक वर्ष २०७६(७७ मा एक खर्ब ४५ अर्ब ९८ करोड रुपैयाँ बराबरको २५ लाख ९० हजार ६ सय ९३ किलोलिटर इन्धन आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले आयात कमी हो ।

 

आर्थिक वर्ष २०७५(७६ मा एक खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँ बराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात गएकोमा वार्षिक रुपमा इन्धनको खपत ८ देखि १० प्रतिशतले बढ्ने गरेकोमा यो वर्ष कोभिडको प्रभावले आयातमा कमी भएको हो ।

इन्धनको आयात घटे पनि निगमले गत वर्ष १२ अर्ब ९० करोड नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको, पाइपलाइनबाट तेल ल्याउँदा ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याजबाट नाफा बढ्न गएको निगमको भनाइ छ ।

 

अघिल्लो वर्ष ८ अर्ब ७५ करोड नाफा कमाएको थियो । इन्धन आयात गरेर गत वर्ष सरकारलाई ६६ अर्ब ८८ करोड राजस्व बुझाएको छ । अघिल्लो वर्ष ६५ अर्ब राजस्व बुझाएको थियो । प्रत्येक वर्ष मुलुकमा इन्धनको खपतसँगै आयात बढ्दै गए पनि यो वर्ष भने कोभिडको प्रभावले आयातमा कमी आएको छ ।

निगमका अनुसार आव ०७६/७७ मा पेट्रोल ५ लाख १३ हजार ९ सय ८४ किलो लिटर डिजेल १४ लाख ७३ हजार किलोलिटर र मटीतेल १८ हजार २ सय ७६ किलोलिटर आयात भएको छ ।

 

यस्तै हवाई इन्धन एक लाख ३६ हजार ४५६ किलोलिटर आयात भएको छ । कोभिडले गर्दा लामो समयसम्म उडान नभएकाले हवाई इन्धनको आयात न्यून भएको छ । यसैगरी खाना पकाउने एलपी ग्यास ४ लाख ४८ हजार ५ सय ५० टन आयात भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा एक खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँ बराबरको २६ लाख ७० हजार ८ सय ८६ किलोलिटर आयात भएको थियो । यस्तै आव ०७३/७४ मा १ अर्ब ८ अर्ब ९८ करोड रुपैयाँ बराबरको २२ लाख ३३ हजार २ सय ६ किलोलिटर आयात भएको थियो ।

 

आव २०७२/७३ मा ५८ अर्ब ९४ करोड रुपैयाँ बराबरको १३ लाख ३९ हजार १ सय ३९ किलोलिटर इन्धन आयात भएको थियो । त्यतिबेला भारतले गरेको अघोषित नाकाबन्दीका कारण यो वर्ष इन्धनको आयातमा कमी आएको थियो ।

निगमका अनुसार सामान्य अवस्थामा मासिक पेट्रोल ५५ हजार किलोलिटर र डिजेल एक लाख ५५ हजार किलोलिटर खपत हुने गर्छ । यस्तै खाना पकाउने एलपीजी ग्यास मासिक ३० देखि ४० हजार टनसम्म खपत हुने गर्छ ।

कारोबार दैनिकबाट।