फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,फागुन ५।सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सरकारले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

 

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

 

नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार नाफा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो ।

 

यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ ।

 

नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ । मट्टितेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा छ ।