आयोगले सोध्यो लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दलसँग स्पष्टिकरण

काठमाडौं,बैशाख ८। निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने थप ४० राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।

 

आयोगको आज बसेको बैठकले नियमित रुपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । आयोगले स्पष्टिकरण सोधेका दल सबै संसद बाहिरका हुन ।

 

आयोगले सोमबार लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आयोगले ती दललाई सात दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

 

राजनीतिक दलले तोकिए बमोजिम लेखा नराखेमा, लेखापरीक्षण नगराएमा वा लेखापरीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

 

तोकिए बमोजिमको जरिवाना नबुझाएमा वा तोकिएको अवधिभित्र काम–कारबाही नसच्याएमा आयोगले एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश समेत दिन सक्नेछ ।

 

त्यस्तै, ऐन बमोजिमको कसुर एकपटकभन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा त्यस्तो दलको दर्ता नै खारेज हुन सक्ने व्यवस्था छ ।