एक स्वास्थ्यकर्मीको प्रधानमन्त्रीसँग अपिल:हजुरले त हात उठाउनु भयो,हामीलाइ त हाम्रो नैतिकताले दिदैन के गरौं ?

सम्माननीय प्रधानमन्त्री ज्यू,
खोइ, कताबाट सुरु गरु ?
कथा र व्यथा लामो छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लडाईमा होम्मिरहेको म एक सिपाही !

प्रधानमन्त्री ज्यू, म एक स्वास्थ्यकर्मी हूँ । धेरै स्वास्थ्यकर्मीहरु आज आफ्नो र आफ्नाका ज्यानको प्रवाह नगरि करिब एकवर्षभन्दा लामो समय देखि कोरोना विरुद्धको युद्धमा अनेकौ मानसिक यातना खेपेर लडिरहेका छौँ ।

 

 

अब त साच्चै नै छटपटी हुन थालिसक्यो प्रधानमन्त्री ज्यू। छटपटी यस अर्थमा कि आफ्नो जीवनको भरोसा र विश्वासको पात्रका रुपमा हामीलाई उभ्याएका ती बिरामी र बिरामीका आफन्तलाई के जवाफ दिने ? उनीहरुले पोतेका ती विश्वासको रंग गाढा राख्न नसक्दा आँखा जुधाउन सक्ने स्थिती रहेन अब हामीसंग ।

 

थाहा छैन, अझै हामी कति मानसिक यातनाबाट गुझ्रदै जानु पर्ने हो ? थुप्रै समस्या र अप्ठ्यारासंग जुध्दै हामी अहिलेसम्म कत्ति पनि बिचलित नभईकन आफ्नो कर्म गरिरहेका छौँ।आगामी दिनहरुमा पनि गर्ने नै छौँ । बस् स्वास्थ्यकर्मी र अन्य अग्रपंतिका रक्षकहरुलाई चाहिने सम्पूर्ण आवश्यकता प्रति यहाँको ध्यानआकर्षण होस्।

 

हालसालै हजुरले ५० प्रतिशत भत्ताको कुरा गर्नुभएको रहेछ । यहाँलाई अवगत होला कि नहोला पोहोर सालको १०० प्रतिशतको भत्ताबाट १ प्रतिशत पनि नपाउने म जस्ता कैयौं स्वास्थ्यकर्मीहरु अझ पनि छौँ।

 

एक पटक पनि कोरोनाका बिरामी आँखाले नदेखेका प्रशासनिक विभागका कर्मचारीहरूले १०० प्रतिशत भत्ता खानेमा परे तर बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरु जो सेवामा तल्लिन रहदाँ २/३ पटक आफै संक्रमित भए उनीहरु हजुरले छुट्याउनु भएको १०० प्रतिशतको दाएरामा परेनन् ।

 

अब कसरी यो रामलिला हजुर नै बुझ्नुहोस् । भैगो हामीलाई भत्ता चाहिएन । भत्ताको लोभले काम गरेका पनि होइनौ । बरु स्वास्थ्य क्षेत्रमा चाहिने आवश्यकताप्रति यहाँको ध्यानआकर्षण होस् ।

 

संक्रमित बिरामीको चित्कार र देशमा घटिरहेका ती कारुणिक दृश्यप्रति सचेत हुनुहोस् । बेरोजगार जनशक्तिलाई कसरी उपयोग गर्न सकिन्छ, अस्पतालहरुमा बिरामीहरुलाई बेड,अक्सिजन,औषधीजस्ता अत्तिआवश्यक वस्तुहरुको उपलब्ध कसरी गराउन सकिन्छ त्यो सोच्नुहोस् । हाल स्वास्थ्य क्षेत्रमा देखिएका जति पनि समस्याहरु छन् तिनलाई कसरी समाधान गर्न सकिन्छ त्यतातिर सोंचिदिनूहोस् ।

 

अहिले देश अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा देशमा रहेका निजि अस्पताल र अन्य स्वास्थ्य चौकीलाई कसरी प्रयोग गर्न सकिन्छ त्यता तिर पनि सोच्ने कि ?

 

प्रधानमन्त्री ज्यू, हजुर देशकाे अभिभावक अनि हाम्रो अभिभावक,जिम्मेवार पदमा बसेर हजुरले त हात उठाईदिसक्नु भयो तर हामीले हात उठाउन सक्ने स्थिती रहेन र उठाउन हाम्रो नैतिकताले पनि दिदैन ।

 

आफ्नो अभिभावकबाट सान्त्वनाका दुई शब्द मात्र पाएपनि यो लडाईमा खटिने थप उर्जा मिल्थ्यो कि? बिन्ती छ 🙏हामीलाई हतोत्साहित बनाउने काम नगरिदिनुहोस् ।

 

आफ्नो कर्तब्यलाई अझै बढी उर्जाका साथ बख्खुबी निभाउने छौँ, बस हजारौं स्वास्थ्यकर्मीहरुको मनोभावनामा आंच आउने किसिमका गतिबिधि नागिरिदिनुहोस् ।

आशा छ छिट्टै हामी यो संकटबाट बाहिर निस्कने छौँ !
हिम्मत, जोश र जाँगर अझै पनि बुलन्द छ !
जित अवश्य पनि हाम्रै हुनेछ !

  लेखक हुन, नर्स- अस्मिता गाैतम