गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदै,यी हुन सम्भावित मन्त्रीहरू

काठमाडौं,जेठ ५। गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुँदैछ । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

 

 

मुख्यमन्त्री गुरुङले यसअघिको सरकारमा एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साल (उद्योग, पर्यटन वन तथा वातावरण) मन्त्रालय दोहोर्याउने तयारी गरेको बुझिएको छ ।

 

 

प्रदेशमा गुरुङ सरकार ढाल्न विपक्षीले खेल थालेपछि गुरुङले राजीनामा दिएका थिए । २७ बैशाखमा सदनमा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । मुख्यमन्त्री गुरुङले मार्ग प्रशस्त गर्ने भन्दै १ दिन अगावै आइसोलेसनमा हुँदा नै राजीनामा बुझाएका थिए।

 

 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको एकीकरण बदर भएर पूर्ववतः नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि प्रदेशमा सत्ता समिकरणको खेल बढेको थियो । माओवादीतर्फबाट यसअघिको गुरुङ सरकारमा सहभागी २ जनाले २५ चैतमा राजीनामा दिएका थिए ।