काठमाडौं महानगरपालिकाले बृहत् कोभिड परीक्षण,यी स्थानमा गर्दै (तालिकासहित)

काठमाडौं,जेठ १३ ।काठमाडौं महानगरले भोली शुक्रबारबाट एन्टिजेनमा आधारित बृहत् कोभिड परीक्षण सुरु गर्ने भएको छ ।

 

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा हुने परीक्षणको पहिलो दिन अर्थात शुक्रबार (जेठ १४ गते) वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

 

 

परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लग्ने योजना अनुरूप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले बताए ।

 

 

हरेक दिन १० वडा केन्द्रबाट परीक्षण गर्ने योजनाअनुसार पर्सि (जेठ १५ गते) वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

 

 

यसैगरी जेठ १६ गते आइतबार १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने कोभिड सम्पर्क अधिकारी ज्ञानबहादुर ओली बताउँछन् ।

 

 

यसैगरी जेठ १७ गते ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ क तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

 

 

समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गरिने भएको हो । परीक्षणका लागि वडामा भएका केस इन्भेस्टिगेसन एन्ड कन्ट्याक्ट ट्रेसिङ् (सीआईसीटी) समूहलाई सक्रिय बनाइनेछ ।

 

 

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङ्मा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको हो ।

 

 

महानगरले लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिहरूलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन आग्रह गरेको छ ।

 

 

परीक्षण, केन्द्र तथा अन्य जानकारीका लागि नागरिकलाई सजिलो होस् भनेर महानगरले क्लिनिक इन्चार्जहरूको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।

 

 

यससम्बन्धि कुनै जानकारी चाहिए सम्बन्धित वडाका क्लिनिक इन्चार्जहरूसँग सम्पर्क गर्न सकिने जनस्वास्थ्य विभागले जनाएको छ ।

 

 

परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य हुनेछ । यसअघि कालीमाटी तरकारी तथा फलफूल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण गरिएको थियो ।