हुण्डी कारोबारी ५३ लाख ८० हजार रुपैयाँसहित पक्राउ

काठमाडौं,जेठ १३। हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्जमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ५३ लाख ८० हजार नगद समेत बरामद गरेको छ ।

 

 

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवाल रहेका छन्।

 

 

हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जैसवालले झोला बोकेर हिँडिरहेको अवस्थामा झोला नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनले बोकेको झोलाबाट नेपाली २४ लाख नगद फेला पारेको थियो।

 

 

उनको बयानको आधारमा वीरगञ्ज महानगरपालिका ८ स्थित डेरा गरी बस्ने प्रसौनी निवासी गुप्ताको डेरामा खानतलाशी गर्दा दुई वटा कालो झोलामा राखिएको २९ लाख ८० हजार फेलापरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।