कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्ने तयारी

काठमाडौं,जेठ १५। भक्तपुरको सूर्यविनायक नगरपालिकाले कार्यविधि बनाएर विद्यार्थीको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

 

कोरोनाको दोस्रो लहरका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सो नगरपालिकाले परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरेको हो ।

 

 

नगरपालिका प्रमुख एवं शिक्षा समितिका संयोजक वासुदेव थापाले कोरोनाको सङ्क्रमणमा तत्काल कमी हुने स्थिति नदेखिएको र परीक्षाको अन्योल हटाउन नगरपालिकाले परीक्षा सञ्चालन एवं व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयन गर्न लागेको बताए ।

 

 

कक्षा १ देखि ७ सम्म विद्यालयले विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्दा २५ प्रतिशत प्रथमः परीक्षा, २५ प्रतिशत अर्धवार्षिक, २५ प्रतिशत प्रयोगात्मक र २५ प्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कनबाट नतिजा तयार गरी परीक्षा सम्पन्न गर्ने व्यवस्था मिलाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

 

 

निरन्तर विद्यार्थी मूल्याङ्कनअन्तर्गत सम्बन्धित कक्षा शिक्षकले प्रत्यक्ष वा भर्चुअल माध्यमबाट हाजिर वा उपस्थिति भएको विद्यार्थीलाई गृहकार्य र परियोजना कार्य, कक्षा कार्य र कक्षामा सहभागिता, व्यवहार परिवर्तन र अतिरिक्त वा सक्रिय क्रियाकलाप लगायत व्यवस्था कार्यविधिमा गरिएको छ ।

 

 

कक्षा ८ र ९ का विद्यार्थीको यसअघि लिइएका प्रथमः त्रैमासिक परीक्षालाई ३०, अर्धवार्षिकलाई ४०, परियोजना र गृहकार्य १०, हाजिर १० र कक्षमा सहभागिता पाँच र अतिरिक्त क्रियाकलाप पाँच गरी एक सय पूर्णाङ्कलाई आधार मानिनेछ ।

गोरखापत्रमा