ओलीको राष्ट्रहित विरोधी चरित्र छताछुल्ल भयो: नेता रावल

काठमाडौँ,जेठ २२।नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र मन्त्रिपरिषद्को हेरफेरले छताछुल्ल भएको बताएका छन्।

 

शनिबार सामाजिक संजालमा ट्विट गर्दै रावलले वाह्य शक्तिलाई खुसी पार्न ओलीले जसपाको महन्थ ठाकुर पक्ष दस मन्त्रालयसहित सरकारमा सामेल गराएको जनाएका छन् ।

 

यसै विषयमा आफूले केही दिन अघि गरेको व्यांग्यात्मक ट्वीट शुक्रबारको मन्त्रिपरिषद् हेरफेरले पुष्टि भएको रावलले बताए ।

 

 

‘प्रम केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाति काम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौं कूकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा व्यंगात्मकरूपमा ट्विट गरेको थिएँ ।

 

 

त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो, कामचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ, यसमा रहेको लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस्,प्रधानमन्त्रीले राष्ट्रघाती, जनघाति, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नुपर्ने परिस्थितिमा पुगेका हों,’ उनले लेखेका छन् ।