ओलीलाई भेट्न बालकोट पुगे महन्थ ठाकुर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बालकोट पुगेका छन् । शनिबार ओलीलाई भेट्न जसपा अध्यक्ष ठाकुरसहितका नेताहरु भक्तपुरको बालकोटस्थित निजी निवास पुगेका हुन् ।

 

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री पदमुक्त भएका ओलीसँग ठाकुर समूहले शनिबार पहिलोपटक भेटवार्ता गरेको हो ।

 

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि विपक्षी बनेको ओली खेमासँग ठाकुर पक्षले छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी र संसदीय दलमा बहुमत जुटाएर जसपाको आधिकारिकता लिने देखिन्छ ।

 

पछिल्लो समय ठाकुर पक्षका ६ जना सांसद पनि यादव पक्षसँग निकट हुन थालेको पाइन्छ । पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्ष संसदीय दलमा पनि अल्पमतमा पर्ने संकेत देखिएको छ ।

 

शुक्रबार ठाकुर पक्षले बोलाएको संसदीय दलको बैठक ७ जना सांसदले बहिस्कार गरेका थिए ।