सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत हो : गगन थापा

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन गलत भएको बताएका छन्।

 

मंगलबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो। सो अध्यादेशको उनले विरोध गरेका हुन् ।

 

अध्यादेश ल्याउनु सधैं गलत भएको कांग्रेस नेता थापा बताउँछन्। ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउन गलत। हिजो पनि गलत, आज गलत र सधैं गलत, जसले गरे पनि गलत,’ बुधबार ट्वीट गर्दै थापाले भनेका छन्।

 

उक्त अध्यादेशलाई लिए सत्तारूढ दल कांग्रेस, सत्तारूढ गठबन्धनकै नेताहरू र नेकपा एमालेले विरोध गरिरहेका छन्। राष्ट्रपति कार्यालयमा मंगलबार नै अध्यादेश पुगे पनि बुधबार बिहानसम्म जारी भएको छैन।

 

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ वैशाख ८ मा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यसबेला विरोध भएपछि चार दिनपछि फिर्ता लिइएको थियो।