एमाले स्थायी कमिटी बैठकले गर्यो,यस्ता निर्णय

काठमाडौं।एमालेको स्थायी कमिटी बैठकले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

 

 

वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालको साथ छाडेर आएका १० जना स्थायी कमिटी सदस्यहरु समेत गरी आजको बैठक बसेको थियो । बैठकपछि नेताहरुले सामूहिक तस्वीर खिचाउँदै एकताको सन्देश पनि दिएका छन् ।

 

 

पार्टी प्रवक्ता प्रदीपज्ञ ज्ञवालीले निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने बताएका छन् ।

 

 

यस्तै दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।

 

 

 

कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

 

 

 

१०–१२ मंसिरमा दशौं महाधिवेशन र ४–६ असोजमा विधान महाधिवेशन गर्ने निर्णय भएको छ ।

 

 

बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाइने भएको छ । सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले बताए ।

 

 

 

बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।