मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु

काठमाडौँ । मोटरसाइलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको ज्यान भएको छ । बुधबार साँझ भद्रपुर –९ स्थित कच्ची सडकमा पैदल हिडिरहेकी २३ वर्षीया दिक्षा चौलागाई प्रसाईलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

 

 

ठक्करबाट गम्भीर घाइते प्रसाईलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि दमकस्थित लाइफलाईन लगिएको परिवारको भनाई छ । प्रहरीका अनुसार प्रसाईको राती २ः३० बजे निधन भएको छ । उनको पेटमा रहेको बच्चाको समेत निधन भएको बताइएको छ ।

 

बा २७ प ६४२२ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेका ३३ वर्षीय मनप्रसाद तिवारीले ठक्कर दिएका थिए । प्रहरीका अनुसार मापसे गरेर मोटरसाइकल चलाइरहेका तिवारीलाई तत्कालै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चन्द्रगडीको हिरासतमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार गर्भवती दिक्षालाई चिकित्सकले असोज १२ गतेको समय दिएका थिए ।