जयसिंह धामी घटना : सरकारद्वारा गठित कार्यदलले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सी.पी. गजुरेलको माग

काठमाडौँ । दार्चुलाका जयसिंह धामीको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संलग्नता सम्बन्धिको प्रमाणसहित सरकारलाई पेश गरिएको प्रतिवेदन सार्वजनिक गर्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले माग गरेको छ । संगठनले बुधबार एक प्रेस विज्ञप्तिमार्फत सो घटनामा संलग्न अपराधीलाई कूटनीतिक रूपमा पहल गरी कडा कारबाही गर्न सरकारलाई दबाब दिएको हो ।

 

 

सरकारद्वारा गठित कार्यदलले नियतपूर्वक भारतका (एसएसबी) ले लठ्ठा खोलेका कारण उनी महाकाली नदीमा डुबी बेपत्ता भएको प्रमाणसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी प्राप्त भएको अध्यक्ष सी.पी. गजुरेलले बताए । अध्यक्ष गजुरेलले उक्त प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गरे । साथै उनले उक्त घटनामा सरकारले गर्ने हेलचेक्र्याइँल र लापरवाहीले पछि गम्भीर अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि दिए ।

 

 

गत साउन १५ गते दार्चुला जिल्ला, व्यास गाउँपालिका, निवासी ३३ वर्षीय जयसिंह धामी गाउँबाट सदरमुकाम खलङ्गा जाने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा बेपत्ता भएका थिए । सरकार अहिलेसम्म  धामीको अवस्थाबारे बेखबर छ ।