संखुवासभा हत्या प्रकरण : तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान सुरू

काठमाडौँ । मादी नगरपालिका– १, खोलागाउँका एकै परिवारका ६ जनाको वीभत्स हत्या घटनाको अनुसन्धानका लागि पुगेको टोलीले अनुसन्धान सुरु गरेको छ । मंगलबार बिहान ७ बजेबाट तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट सो घटनाको अनुसन्धान सुरु गरिएको हो ।

 

 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसी लालध्वज सुवेदीका अनुसार अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा रहेको छ । अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको थियो । आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

 

सामूहिक हत्या भएका मादी– १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको डिएसी सुवेदीले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ । घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए ।