माओवादीमा मन्त्री छान्न सकस,बैठक स्थगित

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक स्थगित गरेका छन्। मन्त्री छान्न तय भएको सत्तारुढ माओवादी केन्द्रले अपराह्न ३ बजे तय गरिएको बैठक स्थगित भएको हो।

 

 

सोमबार मात्र सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएको थियो । यससँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

 

 

माओवादी केन्द्रले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको हो । मन्त्रीका आकांक्षी धेरै भएकाले आन्तरिक छलफल गरेर मात्रै मन्त्रीको नाम टुंगो लगाउने निर्णय भएको माओवादी केन्द्रका एक नेताले बताए ।

 

 

अर्को बैठक बिहीबार ११ बजे बस्ने बताइएको छ ।सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तासँगै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलसँग मन्त्रीको सूची मागेका छन् ।

 

 

प्रधानमन्त्रीले ताकेता गरेसँगै नेकपा माओवादीले आजकै स्थायी कमिटी बैठकबाट मन्त्रीहरुको सूची तयार गर्ने भएको थियो । यसअघि नै मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डले पाइसकेका छन् ।

 

 

प्रधानमन्त्री देउवालाई एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम पठाइसकेपछि दबाबमा परेको माओवादीले आजै मन्त्रीको नाम टुग्याउने र प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको हो ।

 

 

मन्त्रीका लागि आंकाक्षी धेरै जना भएकाले अध्यक्ष प्रचण्डलाई सकस परेको छ । मन्त्री बनाइदिनका लागि प्रचण्ड र उनकी छोरी गंगा दाहालले सूची बनाएपनि त्यो सूचीमा नारायणकाजी श्रेष्ठका तर्फबाट कोही पनि नपरेपछि बैठक राख्न असजिलो भएको स्रोतको दावी छ ।

 

 

यसअघि श्रेष्ठको तर्फबाट गिरिराजमणी पोखरेल मन्त्री बन्दै आएका थिए । प्रचण्डले यसपटक पहिला मन्त्री भएका नेताहरुलाई नपठाउने नीति लिएपछि श्रेष्ठका मान्छे नपरेका हुन् ।

 

 

यसपटक देवेन्द्र पौडेल सुदन किराती, हरिबोल गजुरेल, जयपुरी घर्ती लगायतलाई मन्त्री बनाउने तयारी गरेको भएपनि अन्य नेताहरुले आफूहरुपनि मन्त्री हुनुपर्ने दावी गरिरहेका छन् ।

 

 

माओवादीले भागमा पाएको ६ वटा मन्त्रालय मध्य २ महत्वपूर्ण मन्त्री बनाइसकेको छ। उसले अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाललाई पठाइसकेको छ ।

 

 

अब, चार वटा मन्त्रालय मात्र भागमा रहेको माओवादीबाट क्लस्टर र नयाँ अनुहार पनि पठाउनुपर्ने बाध्यता रहेको भएपनि प्रचण्डले आफ्ना सचिवालयका एक नेतालाई पनि पठाउनु पर्ने बाध्यता रहेको छ।

 

 

आफ्नो सचिवालयमा रहेका खड्कालाई मन्त्री बनाउदा परिवार चलाउन प्रचण्डलाई सहज हुने बताइएको छ। वर्षमान पुन, कृष्णबहादुर महरा र जनार्दन शर्माले पनि आफ्नो तर्फबाट एक जना मन्त्री बनाउन दबाब दिइरहेका छन्।

 

 

देव गुरुङ पनि मन्त्री बन्ने लाइनमा छन् । तर गुरुङ सचेतक रहेका कारण उनलाई पठाउने संभावना कम रहेको माओवादी निकट स्रोतले जनाएको छ ।