पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा प्रेस विज्ञप्ति जारी

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पटक,पटक मूल्य वृद्धि गरिएको पेट्रोल, डिजेल र मट्टितेलको मुल्य तत्काल फिर्ता लिन अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा प्रेस विज्ञप्ति जारी गरिएको छ।

 

हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति र विसङ्गतिको अन्त्यका साथ राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि र महँगी एवम् भ्रष्टाचारका विरुद्ध निरन्तर सङ्घर्षरत रहँदै आएको कुरा सर्वविद्वितै छ ।

 

 

फेरि पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँको दरले, हवाई इन्धन (आन्तरिक तथा बाह्य) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य बढाएको छ ।

 

 

शेरबहादुर देउवा नेतृत्वको सरकारले कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनु त परै जाओस्, पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर नेपाली जनताको ढाड सेक्ने काम गरेको छ ।

 

 

उक्त कार्यको हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ । जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ ।

 

 

त्यस्तै, सार्वजनिक यातायातले मनपरी भाडा असुल्ने, विद्यार्थी, ज्येष्ठ नागरिक, घाइते, अपाङ्गता भएकाहरुलाई कार्ड छुट नदिनेजस्ता कार्य भइरहेको हुँदा अविलम्ब मनपरी भाडा असुल्ने काम बन्द गरी वैज्ञानिक भाडादर कायम गर्न र कार्ड छुटको व्यवस्थालाई दृढताका साथ कार्यान्वयन गर्न पनि नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार अपिल गर्दछौं ।

 

 

साथै, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार अपिल गर्दछौं ।

 

 

 

अन्यथा, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसहित विद्यार्थी, अभिभावक, शिक्षक, मजदुर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।