बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन

काठमाडौं। राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो ।

 

 

जिल्ला प्रशासन कार्यालयमा उक्त कार्य जारी रहेकामा बाँकी चार हजार १८९ पुरुष र एक हजार २७४ महिलाको विवरण सङ्कलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिए ।

 

 

यसअघि सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले आफ्नो विवरण दिएर उक्त कार्यको सुभारम्भ गरेका थिए ।

 

 

 

पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम भइरहेकोे र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य सुरु हुने जनाइएको छ ।

 

 

राष्ट्रिय परिचयपत्रले ब्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले अनिवार्य रुपमा पत्र बनाउनुपर्ने प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

 

 

 

विवरण सङ्कलन गरेर ल्याएपछि त्यसैको आधारमा परिचय पत्र बाँडिने छ । उनले भने, ‘नागरिकता पाएकै दिन सबै कागजपत्र पेस गरेमा परिचयपत्रका लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाएका छौ ।

 

 

बहुउपयोगी प्रमाणपत्रका रुपमा रहेको परिचय पत्र भएकाले अन्य परिचय पत्र साथमा राख्नुपर्ने झन्झट नहुने हुँदा विवरण दिन नहिचकिचाउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरे ।

 

 

 

परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्तिलाई आफ्ना नागरिकता र बुबा आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

 

 

 

दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकताका सबै विवरणका साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ ।

 

 

 

यसरी भरेर पठाएको विवरणका आधारमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।रासस