काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने

काठमाडौं। नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो।

 

 

सभापतिका उम्मेदवार मकवानपुरका इन्द्र बानियाँ, नुवाकोटका जगदीश्वर नरसिंह केसी र काठमाडौँका भीमसेनदास प्रधान कसैको पनि बहुमत नआएको हो।

 

 

निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा बागमती प्रदेश सभापति पदका उमेदवार इन्द्र बानियाँले ९९२ र उनका प्रतिस्पर्धीहरू जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका छन्।

 

 

अब पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ। प्रधानले अब दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउँदैनन्।

 

 

शनिबार हेटौँडामा भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो। शनिबारै रातिदेखि मतगणना सुरु गरिएको थियो।

 

 

कांग्रेसको संघीय विधानानुसार शनिबार पहिलोपटक प्रदेश अधिवेशन भएको हो। अधिवेशनबाट पदाधिकारीतर्फ प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुने छन्।