पाँचथरका उच्च पहाडी क्षेत्रका दुइ गाउँपालिकामा हिमपात

काठमाडौं। भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ । केही दिनअघि हल्का वर्षा भएपछि शुक्रवार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको हो ।

 

 

प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुस महिनाको सुरुआतमै हिमपात भएको हो ।

 

 

 

पाँचथरमा पर्ने तिम्बु पोखरी, पहाडेमेगू, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफूले, फालोट, तीनसीमाना, चारराते लगायत उच्च पहाडी क्षेत्रहरु हिँउले ढाकिएका छन् ।

 

 

 

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दू चिवाभञ्ज्याङ क्षेत्र हिँउले ढाकिनुका साथै करीब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ ।

 

 

 

याङवरक–२ का सन्तप्रसाद बेघाकाअनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमासमेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले बताए ।

 

 

 

‘हिउँ धेरै दिन चाहिँ रहँदैन् । तर यसपालि चाँडै हिमपात सुरु भयो,’ बेघाले भने,’ हिमपातपछि चिसो अत्यधिक बढेको छ ।’ हिमपात भएका क्षेत्रहरुमा चौंरी तथा भेंडा गोठहरु छन् ।

 

 

 

तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठहरु गाउँ बस्तीको नजिक सारिएका छन् । ‘गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो,’ बेघाले भने ।

 

 

 

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीनसीमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन् ।

 

 

 

बीओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीहरुको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमासमेत हिमपात भएको छ ।

 

 

 

पाँचथरमा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनिजस्तो हिमपात हुने गरेको छ ।