विराटनगरको नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थी निकालिए

काठमाडौं । नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ ।

 

 

 

बुधबार शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालेको कलेज प्रशासनले बिहीबार विद्यार्थीलाई गेटबाटै प्रवेश गर्न दिएन।

 

 

 

विराटनगरको नोबेल मेडिकल कलेज काङ्ग्रेस नेता सुनील शर्माले सञ्चालन गर्दै आएका छन् । गेटमै रोकेकामा विद्यार्थीले विरोध गरेपछि छलफलका लागि पाँच जना अभिभावकलाई भने प्रवेश दिइएको थियो ।

 

अभिभावक र कलेज प्रशासनबीचको छलफल विना निष्कर्ष टुङ्गिएको एक विद्यार्थीले बताए ।

 

पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले एक वर्षको साढे तीन लाख भन्दा बढी अतिरिक्त रकम माग गरेको छ ।

 

 

 

पुस ११ गतेदेखि अतिरिक्त शुल्क बुझाउने विद्यार्थी मात्रै अध्ययन गरिरहेका छन् । कलेजमा ९६ विद्यार्थी भर्ना भएका छन् ।

 

 

 

तीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्ति पाएका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थी अध्ययन गरिरहेका छन् । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीले भने प्रवेश नपाएको विद्यार्थीहरुले गुनासो गरे ।

 

 

कलेजले अतिरिक्त शुल्क मागेपछि अभिभावक र विद्यार्थीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका थिए।

 

 

स्थानीय प्रशासनले अतिरिक्त शुल्क नलिन निर्देशन दिएपनि अटेर गर्दै कलेज प्रशासनले विद्यार्थीलाई रोकेको हो ।

 

 

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिरको मेडिकल कलेजमा ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ ।

 

 

 

नोवेलले आयोगले तोकेको भन्दाबाहेक इन्टर्नसीप, होस्टल (अनिवार्य) र रजिस्टेशनलगायत शीर्षकमा अतिरिक्त शुल्क मागिरहेको अभिभावकको गुनासो छ ।

 

 

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले अभिभावकसँग सम्झौता भएका विद्यार्थीलाई मात्र पठनपाठनमा सहभागी गराएको बताए । होस्टल र शुल्कका विषयमा देखिएको विवाद समाधानका लागि छलफल भइरहेको बताए ।