ललिता निवास प्रकरण: अभियुक्त ढकालविरुद्ध राजस्व छली मुद्दा

काठमाडौं। ललिता निवास सरकारी जग्गा हिनामिना गरेको अभियोगमा थुनामा रहेका शोभाकान्त ढकालविरुद्ध करिब सबा अर्ब रूपैयाँ राजस्व छलेको दाबीसहित मुद्दा दायर भएको छ।

 

 

आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध बिगोको जरिवाना दोब्बर गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रूपैयाँ सहित सजायको माग दाबी गरिएको छ।

 

 

 

राजस्व अनुसन्धान विभागले ढकालविरुद्ध उच्च अदालत पाटनमा हदैसम्मको सजाय माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको हो।

 

 

 

 

अनुसन्धान विभागले कुल बिगो १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रूपैयाँ असुलीको माग दाबी गरेको छ। ढकाललगायतलाई हदैसम्म अर्थात् कानुनअनुसार ३ वर्ष कैद सजाय र राजस्व चुहावटमा सहयोग गरेकाले लेखापरीक्षक श्रेष्ठलाई आधा सजायको माग दाबी गरी अभियोगपत्र दर्ता गरिएको हो।

 

 

 

ढकालले आनसान इन्टरनेसनल प्रालि खोलेर त्यसैमार्फत राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण बनाएर कारोबार नै नभएको देखाएर राजस्व छलेको भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

 

 

 

कारोबार नभएको देखाउने लेखापरीक्षक र फर्मलाई पनि मुद्दा चलाइएको छ। काठमाडौं, नागार्जुन नगरपालिका घर भएका ढकालले ललितपुर ठेगानामा कम्पनी दर्ता गरेर राजस्व छली गरेका हुन्।

 

 

 

 

ढकालको कम्पनीको लेखापरीक्षण गर्ने राजेश्वर एन्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता गरिएको हो।नागरिक दैनिकमा खबर छ।