क्रान्तिकारी माओवादीले आज १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै,जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको आज स्मृति दिवस

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै छन् । आज जनयुद्धका प्रथम सहिद क। दिलबहादुर रम्तेलको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

 

नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रिय स्वाधीनताको जारी आन्दोलनकै बीच सहिद सप्ताह मनाउने जनाएको छ ।

 

 

राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका बलिदानीपूर्ण संघर्षमा उत्रने संकल्प गर्नु नै जनयुद्ध र झापा विद्रोहका सहिदहरुको बलिदानप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने नेकपा (क्रान्तिकारी माओवादी) निकट सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागरले बताउनु भएको छ ।

 

 

 उहाँले जनयुद्ध, झापा विद्रोह मात्रै नभएर देश र जनताको निम्ति भएका संघर्षहरुमा जीवन बलिदान गरेका सहिदहरुको सम्मानका लागि सबै सहिद तथा वेपत्ता योद्धा परिवारहरुलाई पनि जारी राष्ट्रिय स्वाधीनताको आन्दोलनमा उत्रिन आव्हान गर्नुभएको छ ।

 

 

 

नेकपा (क्रान्तिकारी माओवादी)ले सहिद सप्ताहको अवधि १४–२१ गतेसम्म सहिद परिवारहरुसँग घेटघाट, अन्तक्र्रिया, सम्मान गर्ने र सहिद परिवारहरुलाई पनि जारी एमसीसी विरुद्धको जारी संघर्षमा सहभागि गराउने लगायतका कार्यक्रम गरिने जनाएको छ ।

 

 

 

२०५२ सालमा जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात् आजकै दिन तत्कालीन सत्ताको निर्देशनमा प्रहरीले ११ वर्षीय विद्यार्थी क.दिलबहादुर रम्तेलको हत्या गरेको थियो ।

 

 

गोरखा पन्द्रङका रम्तेल प्रहरीले गिरफ्तार गरेका आफ्ना शिक्षकलाई छुटाउन धर्नामा सहभागी रम्तेलको हत्या गरिएको थियो ।उहाँलाई तत्कालीन नेकपा (माओवादी) ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो ।

 

 

 

प्रथम सहिद रम्तेलसँगै जनयुद्ध र झापा विद्रोहका सहिदहरुको सम्झनामा माओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै सहिद सप्ताह मनाउँदै आएका छन् ।