चिनियाँ प्राथमिकतामा ओली र दाहाल मात्र

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटका निम्ति दुईवटा कम्युनिस्ट पार्टीका दुई नेतालाई मात्र प्राथमिकतामा राखिएको छ।

 

 

 

दुई नेता हुन्– प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। सामान्यतः यस्ता भेटघाटमा पूर्वप्रधानमन्त्रीहरू र प्रमुख दलका नेतालाई छुटाउने गरिएको देखिँदैन।

 

 

 

 

सत्तारुढ नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र वाङलाई निमन्त्रणा गर्ने परराष्ट्रमन्त्री नारायण खड्काले सरकारको प्रतिनिधिका रूपमा उनीसँग भेटघाट गरेका हुन्।

 

 

 

 

सत्तारुढ दलका नेतामध्ये नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित पूर्वप्रधानमन्त्री झलनाथ खनाल वाङको भेटमा सहभागी हुन पाएनन्।

 

 

त्यसैगरी सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सोही दलका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत वाङले भेटेनन्।

 

 

 

चिनियाँ विदेशमन्त्रीको प्राथमिकतामा अन्य नेता नपरी ओली र दाहालमात्र पर्नुलाई अर्थपूर्ण मानिएको छ। वाङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेर ओलीलाई चिढ्याउन नचाहेको पनि हुन सक्ने अनुमान राजनीतिक वृत्तमा भइरहेको छ।