भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । बैसाख ३० को स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको अन्तिम टुङ्गो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ ।

 

 

 

सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् ।

 

 

 

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको थियो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् ।

 

 

 

उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताएका छन् ।

 

 

 

धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढंगले अघि बढनु पर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको उनले जानकारी दिएका छन् । सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।

 

 

 

हिजोको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने लगभग सहमति बनेको छ ।

 

 

 

उनका अनुसार बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ ।

 

 

 

 

पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ । तर त्यहाँ कांग्रेसले पनि दाबी गरेपछि कुरा नमिलेको हो ।

 

 

 

आजको बैठकले महानगरपालिकाको बाँडफाँटबारे छलफल गरेको छ’, पुरीले भने, ‘पोखराको हकमा एकीकृत समाजवादी र कांग्रेस दुवैले दाबी गर्दा सहमति भएन । यसबारेको निणर्य आजको गठबन्धन बैठकले गर्नेछ ।’