यू-१९ महिला विश्वकपमा छनोटमा नेपाल असफल

काठमाडौं । नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो ।

 

 

यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।

 

 

एसिया छनोटमा ६ टोली सहभागी छन् । नेपालले आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपमा छनोट नहुने निश्चित भएको हो । नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । अपराजित थाइल्याण्डको समान खेलबाट ८ अंक भएको छ ।

 

 

 

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यसअघि कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा युएईसँग १० विकेटको हार ब्यहोरेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको नेपाल ८ रनमै अलआउट भएको थियो ।

 

 

सोमबार भएको तेस्रो खेलमा नेपालले भुटानविलाई ४ विकेटले हराएको थियो ।

 

 

मलेसियाको किनरा ओभरमा ९० रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमै समेटियो । कमजोर सुरुवात गरेको नेपालको सुरुवाती दुवै विकेट रनआउट भएको थियो ।

 

 

 

तेस्रो ओभरमा ओपनर अन्जली विश्वकर्मा (३) र पाँचौं ओभरमा सानु राजवंशी (०) तालमेलको अभावमा रनआउट हुन पुगेका थिए । नेपालका चारजना ब्याटर रनआउट भएका थिए ।

 

 

 

नेपाली टोलीका कुनै पनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । अर्की ओपनर साना प्रविणले ६ रन बनाउँदा शृष्टि जैसीले अविजित ७ र जोडिन् ।

 

 

अनु कडायत ५, कप्तान कृतिका मरासिनी ३ र विकेटकिपर ब्याटर रन्जु श्रेष्ठ १ रनमै आउट भए । नेपालले ११ अतिरिक्त रन पाएको थियो ।

 

 

 

बलिङतर्फ थाइल्याण्डकी नान्थिता बुन्सुकामले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिइन् ।

 

 

यसअघि टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८९ रनको योगफल खडा गरेको थियो ।

 

 

थाइल्याण्डका लागि ओपनर बान्थिदा लिपाथानाले १९, थिपात्चा पुथावोङले २० र सुवानान खियातोले १६ रन बनाए ।

 

 

 

बलिङतर्फ नेपालकी कप्तान कृतिका मरासिनी र मनिषा कुमारी उपाध्यायले २–२ विकेट लिदए । स्नेहा महराले १ विकेट लिइन् ।