बैतडीमा जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ जनालाई कारवाही

काठमाडौं। बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ ।

 

 

आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ ।

 

 

 

सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो ।

 

 

 

यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ ।

 

 

 

जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो ।

 

 

 

कुनैको प्रतितिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

 

 

 

“कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुन्धान थालिएको हो”, उहाँले भन्नुभयो, “केरमेट गरेको पाइएपछि किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाइ सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो ।

 

 

 

जन्ममिति सच्याएर कहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना भारतीले जानकारी दिनुभयो।

 

 

 

उहाँले भन्नुभयो, “नागरिकतामा मिति सच्याएर कम्तीमा ३ वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ ।

 

 

 

यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताउनुभयो ।

 

 

 

यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्र्तगत थप कारबाही हुने जनाइएको छ ।

 

 

 

यसरी नागरिकता केरमेट गर्नेहरुको नामावली भर्ने सार्वजनिक गरिएको छैन ।

 

 

 

उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।