पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ।

 

 

 

नेपाल सरकार र नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोले संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति मार्फत विरोध जनाएका छन्।  

 

 

 

नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।

 

 

सोमबार राति १२ बजेदेखि लागू हुने भन्दै निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० रुपैयाँ पु¥याएको छ ।

 

 

 

हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) यस कार्यको घोर विरोध एवम् भत्सर्ना गर्दै यसअघि र यसपटकको मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन माग गर्दछ।

 

 

सरकारले हप्तादिनपिच्छे पटक–पटक पेट्रोलियमको मूल्यवृद्धि गरी नेपाली जनताको ढाड सेक्ने काम गरिरहेको छ ।

 

 

लगातारको इन्धनको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको मूल्य पनि बढिरहेका छन् । महँगी आकाशिँदा आम सर्वसाधारण नेपाली जनतालाई आफ्नो जीवन धान्न मुस्किल बन्दै गइरहेको छ ।

 

 

 

शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ।

 

 

गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र प्रतिपक्षी दलका नेता के.पी. ओलीलगायत संसदवादी पार्टीका नेताहरु तिनै दलाल, माफिया र राष्ट्रघातीहरुको संरक्षण गर्नमै मस्त छन् । जनसरोकारका विषयमा सबै मौन र मुकदर्शक बनिरहेको अवस्था छ ।

 

 

देशमा राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थपिँदै गइरहेका छन् । देश गम्भीर सङ्कटको भूमरीमा फस्ने र विदेशीको क्रिडास्थल बन्ने खतरा बढेर गएको छ ।

 

 

 

मुलुकमा भ्रष्टाचार व्याप्त छ भने जनता रोग, भोक र अभावले ग्रसित छन् । लाखौं युवा तथा विद्यार्थी विदेशिन बाध्य छन् भने लाखौं युवा र विद्यार्थी स्वदेशमै बेरोजगारीले प्रताडित छन् । यस्तो अवस्थामा सरकार दिनदिनै मूल्यवृद्धि गर्दै जनतामाथि अत्याचार गरिरहेको छ ।

 

 

 

जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि तुरुन्तै फिर्ता गर्नका लागि हामी नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।

 

 

 

साथै, विद्यमान बेथिति, भ्रष्टाचार, महँगीलगायत वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक आग्रह गर्दछौं ।